रौतहट– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।
आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै यस्तो भनेका हुन्।
अध्यक्ष दाहालले भने, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।” उनले राजतन्त्र पुनःस्थापना हुने कुरा पनि असम्भव भएको स्प्रष्ट पारेका छन्।
प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’
उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए।
अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका हुन्। शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।