काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । रास्वपाका सांसद सहित लामिछाने आज (मंगलबार) बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा जाने भएका हुन् ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।
संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ । सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् । सभामुखसँगको छलफलमा सांसद पद निलम्बनबारेमा कुराकानी गर्ने रास्पवाका मुख्य सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।