काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा गुजरातले राजस्थान रोयललाई ५८ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । २१८ रनको लक्ष्य पछ्याएको राजस्थान ४ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५९ रनमा सीमित भयो ।
राजस्थानका सिम्रन हटमायरले ३२ बलमा ५२ तथा सञ्जु सामसनले २८ बलमा ४१ रन जोडे। रियान परागले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
राजस्थानलाई सस्तोमा समेट्ने क्रममा प्रसिद्ध कृष्णले सानदार बलिङ गरे । उनले चार ओभरमा २४ रन दिएर तीन विकेट लिए । रसिद खान र साई किशोरले समान दुईदुई विकेट लिए । स्टार स्पिनर खान रहेको टिममा यस सिजन उनी भन्दा प्रसिद्ध कृष्ण र सुदर्शन छाएका छन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २१७ रनको योगफल खडा गरेको थियो ।
गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८२ रन जोडे। उनको पारीमा आठ चौका र तीन छक्का समावेश थियो । जोस बटलर र साहरुख खानले ३६ रन जोडे । राहुल टेबटियाले १२ बलमा २४ र रसिद खानले चार बलमा १२ रन जोडे । सुदर्शन प्लेयर अफ द म्याच घोषित भए ।
तुसार देश पाण्डे र महेश थक्सेनाले समान दुई विकेट लिए पनि उनीहरू अत्यन्त महँगो साबित भए । पाण्डेले ५३ तथा थक्सेनाले ५४ रन खर्चिए । लगातार चौथो जित हात पारेको गुजरात आठ अङ्कसहित शीर्ष स्थानमा उक्लेको छ । राजस्थान चार अङ्कसहित सातौँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।