काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत शिक्षकहरुको मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरी शिक्षकहरुका न्यायोचित माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने पार्टीको माग रहेको बताएका हुन् ।
‘सरकारले शिक्षा सम्बन्धी नीति, योजना, ऐन कानून र कार्यक्रमहरुको समीक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसङ्गति, अराजकता र अन्योलताको स्थितिलाई अन्त्य गरी समान गुुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ प्रमुख बस्नेतले भने ।
नेपाल सरकारको अदूरदर्शी, त्रुटिपूर्ण शिक्षा नीति, ऐन, कानून र व्यवस्थापन सम्बन्धी कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्योल, दिशाहीन र गुणस्तरहीन तर्फ उन्मूख रहेको पार्टीको ठहर रहेको उनको भनाइ छ ।
मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार नै शिक्षा भएकोले शिक्षा क्षेत्रमा देखिएका अस्तव्यस्ता र अन्योलताको अवस्था अन्त्य गरिनुपर्नेमा पार्टीको जोड रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।