काठमाडौं – आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो।
‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ। शिक्षकहरू आउनु भएन वा केही कारणले सर्यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने।
यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन। तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ।
‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ। हामीले जाने भनेका छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन्।
आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।