काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत तएराती भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ६ विकेटले हराएको छ । उत्कृष्ट लयमा रहेको दिल्लीले १३ बल बाँकी रहँदै खेलमा जित निकालेको हो ।
आफ्नो चौथो खेलमा बेंगलुरुले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको सुरुवात निकै निराशाजनक थियो । शीर्ष तीन ब्याटर–फाफ डु प्लेसिस (२), जेक फ्रेजर (७) र अभिषेक पोरेल (७) सस्तैमा आउट भए ।
त्यसपछि कप्तान अक्षर पटेल १५ रनमै पवेलियन फर्किए । ३१ रनमै ४ विकेट गुमाएको दिल्लीलाई केएल राहुलले सम्हाले । उनले ३७ बलमा अर्धशतक बनाउँदै टोलीलाई संकटबाट बाहिर ल्याए ।
ट्रिस्टन स्टब्ससँग पाँचौं विकेटका लागि राहुलले अविजित १११ रनको साझेदारी गरे । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ९३ रनको सानदार पारी खेले । स्टब्स ३८ रनमा अविजित रहे । बेंगलुरुका लागि बलिङमा भुवनेश्वर कुमारले दुई तथा यस दयाल र सूयस शर्माले एक÷एक विकेट लिए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
उसका लागि फिल साल्टले ३७, कप्तान रजत पाटिदारले २५, विराट कोहलीले २२ र कृणाल पाण्ड्याले १८ रन बनाए । यस्तै, टिम डेविडले उत्कृष्ट फिनिसिङ गरे । उनले २० बलमा चार छक्का र दुई चौकासहित अविजित ३७ रन जोडे ।
दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले दुई/दुई तथा मुकेश कुमार र मोहित शर्माले एक/एक विकेट लिए । यो जितसँगै दिल्लीले चार खेलबाट ८ अंक बनाएको छ । समान अंक भए पनि दिल्लीले शीर्षस्थानमा रहेको गुजरातभन्दा एक खेल कम खेलेको छ । आरसीबी पाँच खेलमा दुई हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।