काठमाडौँ –अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिक बदलीको अवस्था रहँदा कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् गोविन्द झालेका अनुसार दिउँसो कोशीसहित पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य भूभागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।
शुक्रबार राति सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुन सक्ने र काठमाडौं उपत्यकामा पनि अपरान्ह हल्का वर्षा सम्भावित रहेको जनाइएको छ । भारतबाट आएको जलवाष्पयुक्त हावा कमजोर बन्दै गएकोले शुक्रबारको तुलनामा शनिबार अझै कम पानी पर्ने अनुमान छ ।
वर्षाका कारण काठमाडौंको वायुप्रदूषण केही घटेको छ । शुक्रबार बिहान ७ः४५ बजे मापन गर्दा वायु गुणस्तर सूचकांक १३२ रहेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ । तर मौसम बदली भए संगै प्रदूषण अझै घट्ने अनुमान गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।