वीरगञ्ज –खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा बिद्यार्थीलाई चित्रण गरिएको बताएका छन्।
आज वीरगन्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको “बिदाइ कार्यक्रम २०८१” लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिवर्तनका संवाहक भएका बताएका हुन्।
“बिद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन,’मन्त्री यादवले भने ,‘विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका संवाहक हुन्।”
मन्त्री यादवले विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी देशभरमा आफ्नो नाम रोशन गर्नका लागि शुभकामना समेत दिए।
उनले भने, “म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै बिद्यालयहरूबाट जन्मिनेछन्। सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला।”
एक छुट्टै प्रसङ्गमा बोल्दै मन्त्री यादवले अब वीरगञ्जवासीका घरघरमा पाइपमार्फत नि:शुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताएका छन्।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बताए। उनले भने, “जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ। चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।