काठमाडौं –आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। तर, वर्षा र खराब प्रकाशका कारण खेल रोकिएको थियो। युएईलाई डिएलएसबाट जित्न १७६ रनको खाँचो थियो। तर, चार ओभरअघि नै समाप्त गर्दा युएईको स्कोर बोर्डमा १७१ रन मात्रै भएपछि नेपाल पाँच रनले विजयी हुन पुगेको हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । नेपालका कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे।
मुलपानी क्रिकेट रंगशालाकि पहिलो अन्तर्राष्ट्रिय खेलको सुरुवात नेपाली युवा टोलीले ब्याटिङबाट गर्यो। नेपालले ४ विकेट गुमाउँदा १ सय रन बनाएको थियो। निरज कुमार यादवले १८ रन, साहिल पटेलले ३२ रन, सन्तोष यादवले ११ रन र रोशन विश्वकर्माले ४ रन बनाए।
त्यसपछि कप्तान नरेन भट्ट र दिलशाद अलिले पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गरे। यो क्रममा नरेनले अर्धशतक बनाए। ७५ बल खेल्दै ७ चौका सहित ६७ रनको पारी खेले। दिलशादले ४० बलमा १ छक्का सहित ३४ रन जोडे। अशोक धामी अविजित १० रनमा रहे।
बलिङमा युएईका उदिश सुरीले ८ ओभरमा १ मेडन सहित ३ विकेट लिए। सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।
भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ।
पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।