फाइल तस्बिर काठमाडौं– गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।
बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भएको थियो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए । यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी भएनन् ।
उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । थापा आज पार्टीको क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्न बारा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।