काठमाडौँ – चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा अब १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने निर्देशिका कार्यान्वयन रोक्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको पत्राचाबिरुद्ध अदालतमा मुद्दा परेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले उक्त पत्रबिरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको अधिवक्ता बानियाँले जानकारी दिएका छन् ।
बानियाँ भन्छन्, ‘जनस्वास्थ्यका लागि हानीकारक चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको प्रभावमा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउने विषय गैरकानुनी मात्रै होइन, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हो ।’
उद्योग मन्त्री दामोदर भण्डारीले सुर्तिजन्य पदार्थ उत्पादक तथा वितरकको प्रभावमा आएर गत चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका थिए । सर्वोच्च अदालतले उक्त पत्रबिरुद्ध अन्तरिम आदेश जारी गर्ने विषयमा छलफल गर्नका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको थिए ।
मन्त्री पौडेलले पारित गरेको उक्त निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नु पर्ने व्यवस्था राखिएको छ ।
निर्देशिकामा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने लगायतका चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।