काठमाडौं – नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरेका हुन्।
सांसद तिमल्सिनाले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे।
‘शिक्षालाई स्थानीय तहमा नराख्न संविधान संशोधनको कुरा आउँछ। अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार,’ उनले भने, ‘तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्यो। नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौँ।’
उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताए।
सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँशु निकालेर केही फाइदा नहुने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।