एजेन्सी – युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको पछिल्लो हवाइ आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । आइतबार गाजापट्टिको जबालिया क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ । नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ यता गाजामा २२० जना पत्रकारहरू इजरायली हमलामा मारिएको तथ्यांक छ ।
इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इजरायली सैनिकहरूलाई भेटेर गाजाको युद्ध अन्त्य नभएको बताएका थिए । उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको पनि बताएका थिए ।
‘हामी बन्धकहरूलाई घर ल्याउन, हमासलाई ध्वस्त पार्न हामीसँग भएका सबै उपकरण प्रयोग गर्नेछौं,’ जामिरले भनेका छन् । इजरायलक हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको बताएको छ । उसले गाजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराको विकल्प नरहेको भनेको छ ।गाजाबाट सञ्चालित मिडियाहरूले गाजापट्टिका ७७ प्रतिशत भूभाग इजरायली सेनाले कब्जा गरेको बताएको छ ।
उनीहरुले जमिनबाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएको छ । हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर गाजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको बताएको छ ।
गाजामा युद्धविरामका लागि पहल भइरहेको भए पनि ठोस परिणाम आउन सकेको छैन । यसअघि ४२ दिने युद्धविरामताका एक सयको हाराहारीमा बन्धकहरूलाई हमासले रिहा गरेको थियो । अझै ५० भन्दा बढी मानिसहरू हमासको बन्धकमा छन् । ती मध्ये केहीको मृत्यु भइसकेको आकलन छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।