काठमाडौं – सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलगायत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजय प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव पनि मुछिएका छन्।
३७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत १५ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी ३२ जेठ २०७७ मा गरेको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारको भनाइ छ।
गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। सो भवन अहिले उपयोगविहीन भएको अख्तियारले जनाएको छ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।