काठमाडौँ– काठमाडौंको तीनकुनेमा हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेका थिए।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिएका हुन्।
राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु सात जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो। तर ती ६ जना भने धरौटी बुझाउना साथ रिहा हुनेछन्।
अदालतको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ।
यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन्। पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए।
दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो। सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो। आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।