काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे।
महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए। कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे। त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए। जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर उनले गरे।
महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए। नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने उनले बताए।
थापाले सबै क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।