झापा- मेची राजमार्गअन्तर्गत हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ जना मजदुर गम्भीर घाइते भएका छन्। पुल कसरी भत्कियो भन्नेबारे खुल्न सकेको छैन।
घाइते हुनेहरूमा बारा, सिमरा-१२ बस्ने २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्।
रूपलाल, राजन र राकेशको अवस्था गम्भीर छ भने भुलेश्वरको दायाँ खुट्टा भाँचिएको छ। प्रकाश र अभिषेकको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते मजदुरहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ।
यो पुल यसअघि पनि दुई पटक बगेको थियो। २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो।
तर, त्यो बेलिब्रिज पनि २०८१ असोज १२ गते बगेको थियो। अहिले भत्किएको पुल तेस्रो पटक बनाइँदै गरेको मोडुलर (बेलिब्रिज) थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।