काठमाडौँ– मितेरी सहकारीको रकम ठगेको आरोपमा कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
भण्डारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी युवराज खड्काले बताएका हुन्। उनीविरुद्ध प्रहरीले ठगी र किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ।
सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए। रेडकर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका हुन्।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका भण्डारीले लिएको दुई वटा पासपोर्टमा फरक नागरिकता नम्बर उल्लेख गरेको भेटिएको छ। एउटा नागरिकतामा बर्दिया जन्मस्थान र अर्कोमा जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ।
भण्डारीको नाममा जारी भएको १०५४८६८८ नम्बरको पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ। अर्को पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरेको फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।