काठमाडौं– ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभरको उद्घाटन गरिएको छ । शुक्रबार ग्वार्कोमा आयोजित एक कार्यक्रममाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथको कलङ्की–कोटेश्वर खण्ड अन्तर्गत ग्वार्कोमा निर्माण गरिएको फ्लाइओभरको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुनु खुसीको कुरा भएको भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए ।
उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भएको र त्यसको उत्खननको सुरुवात पनि आफैंले गरेको उनको भनाइ थियो ।
त्यस्तै उनले धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले अव निरन्तर अरु खनिजको उत्खनन गर्ने र कृषिको आधुनिकीकरण गर्ने धारणा राखे ।
नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउने भन्दै उनले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्न नहुने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।