काठमाडौँ– शहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारीसाधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन्।
काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र पारदर्शी जार भेटाएको हो।
महानगरपालिकाका अनुसार यी जार जफत गरिएको छ। जफत जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ। पानी बोक्ने सवारीसाधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएका थिए।
अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ।
यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराब अवस्था हुन नदिन संवेदनशील रहन आग्रह समेत गरिएको महानगरले जनाएको छ।
महानगरपाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको आजदेखि अनुगमन सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।