काठमाडौं – उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ।
खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो।
महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ। श्रीलंकासँग खेलेको ८ वटै खेल नेपालले जितेको छ। फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन्।
नेपालले श्रीलंकामाथि ३० गोल गरेको छ। तर, अहिलेसम्म कुनै गोल खान परेको छैन। त्यसैले समूह एफमा उज्बेकिस्तान १ गोलले पछाडि परेको नेपाललाई श्रीलंकामाथि गोल वर्षाउँदै अगाडि बढ्ने मौका छ।
उज्बेकिस्तानले बुधबार नै लाओससँग खेल्नेछ। यी दुई खेलले शीर्ष स्थानमा रहने र पुग्ने टोलीको टुंगो लगाउने छ। त्यसपछि उज्बेकिस्तान र नेपालबीच हुने खेलले अस्ट्रेलिया जाने टोलीको निर्णय लगाउनेछ।
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यही समूहको अर्को खेलमा उज्बेकिस्तानले श्रीलंकालाई १०-० को फराकिलो अन्तरले हराएको थियो।
फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ। नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन।
नेपालको अन्तिम खेल उज्बेकिस्तानसँग भएकोले त्यसअघिका खेलमा हरेक गोल पनि महत्वपूर्ण हुनेछ। पहिलो खेलको नतिजा हेर्दा नेपाल र घरेलु टोली उज्बेकिस्तान नै एसियन कपमा छनोट हुने दाबेदारको रुपमा छन्।
अब दोस्रो खेलको नतिजापछि अन्तिम खेलमा यी दुई टिमलाई कस्तो नतिजा चाहिने भन्ने थाहा हुनेछ। यदि दोस्रो खेलमा नेपाल र उज्बेकिस्तान विजयी भएमा अन्तिम खेल निर्णायक बन्नेछ।
समूहमा शीर्ष रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ। त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।