काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन्।
उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशङ्का थपिएको बताए। उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न समेत गरे।
उनले भने, ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सङ्घीय निजामती सेवा विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो। तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन। यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको र शङ्का भएको यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशङ्का जन्माएको छ। विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शङ्का छ।’
उनले विधेयकको प्रतिवेदन वितरण नगरिनुले गायब पार्न खोजिएको हो कि भन्ने आशङ्का रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।