काठमाडौँ – क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
आइतबार अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'डाइरेक्ट रिलिफ' को सहयोग तथा 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा उक्त औषधि आइतबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।
ती औषधि तथा स्वास्थ्य सामाग्रीहरू असार २७ गते नेपाल आइपुगेका थिए भने त्यसयता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा भण्डारण गरेर राखिएको थियो।
आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो। आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ। मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।