मिरपुर– बंगलादेशले टेस्ट क्रिकेटमा अहिलेसम्मकै ठूलो जित हात पारेको छ। मिरपुरमा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई इनिङ र १ सय ८४ रनले पराजित गर्दै बंगलादेशले इतिहासकै ठूलो जित हात पारेको हो। जितसँगै उसले ३ खेलको सिरिज कब्जा गर्न समेत सफल भएको छ। यसअघि पहिलो खेलमा पनि घरेलु टिम बंगलादेश विजयी भएको थियो।
फलोअनमा परेको वेस्ट इन्डिज दोस्रो इनिङमा २ सय १३ रनमा अलआउट भएपछि बंगलादेशले सहज जित हात पारेको छ। दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि सिमर हेटमयरले ९३ रन जोडेका थिए। बलिङमा मेहदी हसनले ५ विकेट लिएका थिए। यस्तै तइजुल इस्लामले ३ विकेट हात पारे।
यसअघि वेस्ट इन्डिज पहिलो इनिङमा १ सय ११ रनमा अलआउट हुँदा फलोअनमा परेको थियो। वेस्ट इन्डिजविरुद्ध पहिलो इनिङमा बंगलादेशका मेहदी हसनले ७ विकेट लिए। उनले २ इनिङमा गरी १२ विकेट लिन सफल भए।
पहिले ब्याटिङ गरेको बंगलादेशले ५ सय ६ रन जोडेको थियो। उसका लागि महमुदुल्लाहले १ सय ३४ रन, कप्तान सकिब अल हसनले ८० रन र सादमान इस्लामले ७६ रन जोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।