काठमाडौं– त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ। आर्मीले आइतबार भएको खेलमा हिमालयन शेर्पालाई २–१ गोलले पराजित गर्यो। जितसँगै आर्मी फेरि दोस्रो स्थानमा उक्लिएको छ।
खेलमा आर्मीले कप्तान भरत खवासको गोलबाट पहिले अग्रता लिएको थियो। उनले ३२ मिनेटमा हेडमार्फत गोल गरेका थिए। ८४ मिनेटमा भरतले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे।
२ मिनेटपछि शेर्पाका उलरिच सिवेले गोल गरेर टिमलाई खेलमा फर्काउन कोशिस गरे। त्यसपछि शेर्पाले काउन्टर आक्रमणमा गोल गर्ने प्रयास गरे पनि तालमेल मिलाउन सकेन।

यता दिनको अर्को खेलमा जावलाखेलले पहिलो जित हात पारेको छ। यसअघिका चार खेल मध्ये ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गर्दै जितको स्वाद चाखेको हो।
जावलाखेलको जितमा अर्जुन सिंह नायक सावित भए। उनले खेलको ८८ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै जावलाखेललाई पहिलो जित निकाल्न पर्याप्त बन्यो। ब्रिगेडका मनोज राईले जावलाखेलका निरबहादुर आलेलाई डिबक्समा फउल गरेपछि पेनाल्टी प्रदान गरिएको थियो।
योसँगै लिगमा पाँचौ चरणका खेल सकिएका छन्। पाँचौ चरणको खेल सकिदासम्म मनाङ मर्स्याङ्दी क्लब सवै खेल जित्दै १५ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्मीको ५ खेलबाट १३ अंक छ। लिगमा मनाङ र आर्मी अपराजित टिम हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।