काठमाडौं– निर्मला पन्त हत्याको अनुसन्धानमा संलग्न एक दर्जन प्रहरी हिरासतबाट मुक्त भएका छन्। विभिन्न गणको प्रहरी हिरासतमा थुनामा राखी यातना दिइएका प्रहरीहरु तीन महिनापछि गत मंगलबार हिरासतमुक्त भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
गत साउन १० गते बेपत्ता भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको ११ गते उखुबारीमा शव भेटिएको थियो। हत्या अनुसन्धानमा खटिएको सिआइबीको टोलीसहित कञ्चनपुरकै प्रहरी प्रमुख र अन्य प्रहरी अधिकारीले लापरबाही गरेको भन्दै निलम्बनसमेत गरिएको छ।
अनुसन्धानमा खटिएका प्रहरी निलम्बनमा परेपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका तत्कालीन डिआइजी तथा हालका एआइजी धीरु बस्न्यातको नेतृत्वमा गत भदौ ३१ गते छानबिन समिति गठन भएको थियो। सोही समितिले हत्या अनुसन्धानमा विभिन्न एंगलबाट संलग्न भएका एक दर्जन प्रहरीलाई थुनामा राखेको थियो।
सई वासुदेव अवस्थी, सई डिकरदेव पन्त, दार्चुलाका असई भानबहादुर चन्द, असई केशव शर्मा, डडेल्धुराका हवल्दार धर्मसिंह भाट, सुरेन्द्र कुँवर, सिपाही लालबहादुर विष्ट लगायत एक दर्जन प्रहरीलाई एआइजी बस्न्यातको टोलीले थुनामा राखेर यातना दिँदै सोधपुछ गरेको स्रोतले जानकारी दिएको छ।
असुन्धानमा पोख्त भन्दै कञ्चनपुर प्रहरीले त्यसेबला अन्य जिल्लाका प्रहरी अधिकारीलाई पनि झिकाएर अनुसन्धान गरेको थियो। सई पन्त त्यसबेला गड्डाचौकीका प्रमुख थिए भने हवल्दार भाटलाई डडेल्धुराबाट, असई चन्दलाई दार्चुलाबाट ल्याइएको थियो।
अनुसन्धानमा सहयोग गर्न भन्दै कञ्चनपुर पुगेका तीनै प्रहरी अधिकारीले तीन महिना लामो थुनामा बसेर यातना सहेका छन्।
छुट्टाछुट्टै प्रहरी कार्यालयमा थुनेर यातना दिएको पीडित प्रहरी स्वयंले बताएका छन्। ‘हाउस अरेस्ट जस्तै गरी थुनामा राखेको थियो। जहाँ मोबाइल बोक्न, कसैसँग गफ गर्न केही पनि दिइँदैन,’ स्रोतले भन्यो, 'निगरानी गर्नसमेत गार्ड राखिएको हुन्छ।’
मानसिक यातना पनि त्यत्तिकै दिइने गरेको स्रोतले जनाएको छ। ‘बयान लिन लैजाँदा, ल्याउँदा पनि सँगै गार्ड हुन्छन्। यसमा जतिसक्दो प्रहरीले आफ्नो गल्ती स्वीकार गरोस् भनेर यातना पनि दिने गरिन्छ,’ एक प्रहरीले भने।
प्रहरीको भूमिका नै शंकास्द भन्दै थुनामा राखेर उनीहरुलाई प्रहरी बयान लिएको थियो। उनीहरु अन्तत: मंगलबार रिहा भएका छन् । स्रोतले भन्यो, ‘उनीहरुलाई रमाना दिइएको छ। अब आ–आफ्नो कार्यक्षेत्र फर्किन्छन्।’
एआइजी बस्न्यातको टोलीले उनीहरुसहित १८ जना प्रहरीलाई दोषी देखाएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ५ सय ३२ पृष्ठ लामो प्रतिवेदन बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।