दोलखा- दोलखाको कालिञ्चोकमा हिउँ परेपछि यहाँको भगवती मन्दिरको दर्शनसँगै हिउँ खेल्न आउने आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ। जसका कारण मन्दिरदेखि तल रहेको कुरी बजार पर्यटकले गुल्जार छ।
देउराली बजारदेखि नै यसपालि हिउँ परेको हो। मन्दिरको डाँडाबाट देखिने कुरी भ्यालीको दृश्य यतिबेला झनै हेर्नलायक बनेको छ।
हिउँ परेको थाहा पाएपछि काठमाडौंबाट साथीहरुसँग आएको लक्ष्मी कार्कीले बताइन्। अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबारदेखि नै यो क्षेत्रमा पर्यटकको चाप बढेको छ।
चिमाल र गुराँसको जंगल यहाँको विशेषता हो। धुपीका रुखलाई छोएर बहने सिरसिर हावा खाँदै यात्रा गर्नु अर्को रमाइलो पक्ष।

केबलकारले तान्यो आन्तरिक पर्यटक
कुरी बजारदेखि गत मंसिरबाटै केबलकार सञ्चालनमा आएको छ। कुरीबाट मन्दिर पुग्न पैदल करिब डेढ घन्टा लाग्ने गर्छ। तर केबलकारबाट करिब ५ मिनेटमा मन्दिर पुगिन्छ।
केबलकार सञ्चालनकै कारण चाप बढेको स्थानीय होटल व्यवसायी राजु तामाङले बताए।
केबलकार ३ हजार ८ सय ४२ मिटर अग्लो स्थान कालिञ्चोकमा सञ्चालित छ। रोल्वालिङ र लाङटाङ हिमाल हेर्दै यात्रा गर्न सकिने भएकाले यसको आनन्द लिनका लागि पर्यटकहरु आउने गरेका हुन्।
यो नेपालमा हालसम्मको सबैभन्दा उच्च स्थानमा रहेको केबलकार हो। केबलकार चढेर दैनिक ३ हजारभन्दा बढी दर्शनार्थी मन्दिर आउने गरेका छन्।
तर, केबलकार यात्रा त्यति सहज छैन। टिकट लिएपछि पनि चढ्न तँछाडमछाड हुँदा महिला, र बालबालिकालाई निकै गाह्राे छ।
होटलसँगको सेटिङ, यात्रुसँग मनपरी भाडा
चरीकोटदेखि कुरीबजार पुग्न गाडीमा करिब १ घन्टा २० मिनेट लाग्छ। चरीकोटदेखि केबलकार भएसम्म पुग्न बसका लागि प्रतिव्यक्ति २ सय र जिपका लागि ३ सय भाडा जिल्ला प्रशासन कार्यालय दोलखाले निर्धारण गरेको छ। तर, कुरी बजारका स्थानीय होटल व्यवसायीसँग सम्पर्क गरी जिपले प्रतिव्यक्ति ५ सयदेखि १ हजारसम्म भाडा असुल्ने गरेेेेको एक यात्रुुुुले गुुनासो गरे।

चरीकोटबाट कालिञ्चोक १७ किमिको दुरीमा छ। कुरी बजारमा प्रहरी चौकी नहुँदा चालकले जति भन्यो उति भाडा तिर्न पर्यटक बाध्य छन्।
कालिञ्चोक भगवती दर्शन
कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदी-बहिनीमध्ये एउटी बहिनी मान्ने गरिएको छ। यो मन्दिरमा पूजाआजाका लागि दैनिक स्थानीयवासी पुग्ने गरेका छन्।

कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पूरा जनविश्वास छ। कालिञ्चोक मन्दिरमुनि ‘सुन्धारा’ थियो भन्ने किंवदन्ती छ। मन्दिर जाँदा सुनको धारामा नुहाएर मात्रै शुद्ध भइन्छ भन्ने धार्मिक विश्वास छ। तर, अहिले यहाँ धारा छैन।
केबलकार निर्माणका बेला यसको स्वरूप बिगारेको एक स्थानीयले बताए।
काठमाडौंबाट कसरी जाने?
काठमाडौंबाट सवाारीसाधनबाट करिब १ सय ४० किमीको यात्रापछि दोलखा सदरमुकाम चरीकोट पुगिन्छ। चरीकोटसम्म पुग्न पुरानो बसपार्क र कोटेश्वर जडीबुटीबाट सार्वजनिक यातायात बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पाइन्छ। खाँडीचौरदेखि सडक सहज नभएकाले करिब ७ घन्टाको यात्रामा कालिञ्चोक पुग्न सकिन्छ।

चरीकोटबाट विभिन्न सवारीसाधन पाइन्छ। जसका कारण सहजै यात्रा गर्न सकिन्छ। निजी सवारीसाधनमा जानेलाई चरीकोट पुगिराख्नु पर्दैन, मकैबारी भन्ने ठाउँबाट सिधै कालिञ्चोक जान सकिन्छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।