काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीसँग राष्ट्रियसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो ‘हैसियत’को कुरा उठाएका छन्।
नेकपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीसँग शुक्रबार राखेको छलफल कार्यक्रममा संघीय संसदका सदस्यहरुबीचमै विभेद भएको भन्दै कुरा उठाएका हुन्।
नेकपा नेता एवम् राष्ट्रियसभा सदस्य खिमलाल भट्टाराईले दुई सदनका सदस्यहरुमाथि गरिने व्यवहारका सम्बन्धमा आफ्ना केही गुनासाहरु रहेका र त्यो प्रधानमन्त्रीसँग राखेको बताए।
‘हाम्रा केही गुनासा थिए,’ नेपाल लाइभसँगको कुराकानीमा भट्टराईले भने, ‘संघीय संसदका दुवै सदनलाई कम्तीमा पनि समान हैसियत प्रदान गर्नुपर्छ भन्ने हाम्रो कुरा थियो। त्यही कुरा हामीले उहाँसँगको छलफलमा पनि राख्यौं।’
उनका अनुसार नेकपाका राष्ट्रियसभा सदस्यहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभामा मात्रै सम्बोधन गर्ने गरेको भन्दै ओलीसँग गुनासो गरेका छन्। त्यस्तै, उनीहरुले वैदेशिक भ्रमणमा प्रतिनिधिसभाबाट मात्रै प्रतिनिधित्व हुने गरेको भन्दै राष्ट्रियसभाबाट पनि प्रतिनिधित्व गराउनुपर्ने विषय उठान गरेका छन्।
प्रधानमन्त्रीसँग राष्ट्रियसभाका सदस्यहरुले राखेको अर्को गुनासो बजेटको विषयलाई लिएर पनि थियो।
बजेट प्रतिनिधिसभामा मात्रै केन्द्रित गरिएको भन्दै सांसदहरुलाई फरक व्यवहार नगर्न सदस्यहरुले प्रधानमन्त्रीसँग माग गरेका छन्। ‘बजेट व्यवस्था गर्दा राष्ट्रियसभा र प्रतिनिधिसभालाई समानुपातिक रुपमा वितरण गर्नुपर्छ भन्ने कुरा राख्यौं,’ नेता भट्टराईले भने।
उक्त छलफलमा राष्ट्रियसभाका सदस्यहरुले आफूहरुबीच मर्यादाक्रममा समेत विभेदको कुरा उठाएका छन्।
भर्खरै सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको हैसियत समान राखिएको छैन। त्यसमा प्रतिनिधिसभाका सदस्यको मर्यादाक्रम राष्ट्रियसभा सदस्यभन्दा माथि राखिएको छ।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई करीब २० मिनेट संबोधन गरेका थिए। सांसदहरुका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले छलफल गरेर उचित निष्कर्षमा पुग्न सकिने अभिव्यक्ति दिएका छन्।
हाम्रो विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको छ : ओली
आफ्ना दुःख र गुनासा सुनाउन प्रधानमन्त्रीसँग छलफलको समय मिलाएका नेकपा सांसदहरुलाई ओलीले सरकारले गरेको उपलब्धि सुनाएका हुन्।
सरकारले सही बाटो र नीति लिएको भन्दै उनले सरकारको विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको सांसदहरुमाझ राखेका थिए। ‘सरकार हामीले जे भन्दै आएका थियौं, त्यही हिसाबले काम गर्दै अगाडि बढिरहेको छ,’ छलफलमा ओलीले राखेको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘हाम्रो विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको छ। नेपालमा पनि यसरी विकासको काम अगाडि बढ्न सक्ने रहेछ भनेर सबै छक्क परिरहेका छन्।’
सकारले गरेको काम जस्ताको तस्तै जनताको बीचमा लैजान नसकिएको भन्दै ओलीले त्यसलाई लिएर जनतासम्म जान सांसदहरुलाई निर्देशन दिए।
पार्टी एकीकरणको प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै ओलीले अब त्यसलाई छिट्टै टुंग्याउने बताए। ‘पार्टी एकीकरणको तलसम्मको प्रक्रिया चाहिँ अलि ढिला भएको छ,’ ओलीको भनाइ थियो, ‘त्यसमा अलि बाधा उत्पन्न भएको छ। यो काम पनि हामीले छिट्टै सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।