काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको कपिलवस्तुस्थित घरमा प्रहरीले छापा मारेको छ।
आज बिहान नेपाल प्रहरी र सशस्त्रको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ स्थित शिवगढीमा विप्लवको घरसहित अन्य घरमा पनि छापा मारेको हो।
खानतलासीका क्रममा प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
छापा मार्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुकाे शिवराज नगरपालिका-९, अञ्चलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्का छन्। हतियारसहित फेला परेका राेक्कालाई नियन्त्रणमा लिने क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिन फायर गर्दा उनकाे बायाँ खुट्टामा गोली लागेकाे बताइएकाे छ। घाइते भएका राेक्कालाई उपचारका लागि बुटवल लगिएको छ।
पक्राउ गरेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरीले विशेष सुराकीको आधारमा सर्च अपरेसन चलाएको थियो। अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।