काठमाडौं- पाँचौं संस्करणको साफ महिला फुटबलका लागि नेपालको राष्ट्रिय टिम घोषणा गरिएको छ। महिला राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्काले २० सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्।
आगामी फागुन २८ देखि विराटनगरमा हुने प्रतियोगिताका लागि नेपाली टिममा ६ जना यू–१९ टिमका खेलाडीले स्थान पाएका छन्। यता फरवार्ड अनु लामा, मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनीता चौधारीले टिममा स्थान पाउन सकेनन्। तीनै जनाले भारतमा भएको हिरो महिला गोल्डकपमा सहभागिता जनाएका थिए।
उपाधि जित्ने लक्ष्य लिएको नेपालले तीन महिनाअघि तयारी थालेको थियो। सुरुमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणकमा ३३ खेलाडी सहभागी थिए। राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको थियो। यसबीचमा नेपालले भारतमा आयोजना भएको हिरो गोल्डकप खेलेको थियो। चार टिम सहभागी प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमले भारतबाट इटहरीमा आएर अभ्यास गरेको थियो। अहिले भने नेपाली टिम प्रतियोगिता आयोजना हुने स्थल विराटनगर पुगेको छ।
विटानगरको सहिद रंगशालामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। सो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग फागुन १८ मा खेल्नेछ। समूहको दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।
दक्षिण एसियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको बर्चस्व तोड्न सकेको छैन। सबै संस्करणको उपाधि भारतले जितेको छ। नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ।
यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकामा श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो।
नेपाली टिम
गोलकिपर– अन्जना रानामगर, उषा नाथ, एन्जिला थुम्बापो सुब्बा
डिफेन्डर– हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु
मिडफिल्डर– अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, सर्मीला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी
फरवार्ड- रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।