लिभरपुल– इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै गएको छ। आइतबार राति दोस्रो स्थानको लिभरपुलले वर्नलीमाथि ४–२ को जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ।
वर्नलीविरुद्ध लिभरपुलका रोबर्टो फिर्मिनोले १९ र ६७ मिनेटमा गोल गरेका थिए। यस्तै साडियो मानेले २९ र दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गरी २ गोल नै गरे।
त्यसअघि वर्नलीका लागि वेस्टवुडले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए। यस्तै गुडमुडसनले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे पनि खेलमा फर्कन पर्याप्त हुन सकेन।
यता म्यानचेस्टर युनाइटेडलाई आर्सनलले २–० ले पराजित गरेको छ। घरेलु मैदानमा जित निकाल्ने क्रममा आर्सनलका ग्रानित जाकाले १२ र आउबामेयाङले ६९ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ओले गनर सोल्सजाइर प्रशिक्षकमा आएपछि म्यान्यूले पहिलो हार बेहोरेको हो।
अर्को खेलमा चेल्सीले हार टारेको छ। उसले वुल्भ्सविरुद्ध १–१ को बराबरीमा खेलेको हो। ५६ मिनेटमा जिमेनेजले गोल गरेर वुल्भ्सलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा इडिन हजार्डले बराबरी गोल फर्काएर चेल्सीको हार टारे।
लिगको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३० खेलबा६ ७४ अंक छ। दोस्रो स्थानको लिभरपुलको ७३, तेस्रो स्थानको टोटनह्यामको ६१, चौथो स्थानको आर्सनलको ६०, पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५८ र छैटौं स्थानको चेल्सीको ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।