विराटनगर- साफ महिला च्याम्पियनसिपको पछिल्ला चार संस्करणमा भारतले लगातार उपाधि उचालेको थियो। उपाधि मात्र होइन भारतलाई साफ च्याम्पियनसिपमा कुनै पनि टिमले हराउन सकेको छैन।
उपाधि जित्ने र खेल नगुमाएर रेकर्ड बनाएको एक्लो टिम भारतले पाँचौ उपाधिका लागि घरेलु टिम नेपालसँग शुक्रबार भिड्दैछ। नेपालका लागि भने विराटनगरको सहिद रंगशालमा हुने खेलमा भारतको रेकर्ड तोडेर इतिहास बनाउने अवसर छ।
नेपाल र भारत पछिल्लो पटक साफ च्याम्पियनसिप बाहेकका २ खेलमा भिडेका थिए। म्यानमारमा भएको ओलम्पिक छनोटको खेलमा नेपालले भारतलाई १-१ को बराबरीमा रोकेको थियो। त्यतिबेला नेपालले पहिलो पटक भारतलाई रोक्दै इतिहास बनाएको थियो। गत महिना भारतमा भएको हिरो महिला गोल्डकपमा नेपालले भारतलाई हराएको थियो। नेपालले भारतीय महिला टिमलाई हराएको त्यो नै पहिलो पटक हो।
यसरी पछिल्ला २ खेलमा भारतसँग उत्कृष्ट खेलेको नेपालका लागि शुक्रबार इतिहास बनाउने मौका छ। नेपालका प्रशिक्षक हरि खड्काले शुक्रबार उपाधि जितेर इतिहास बनाउने दाबी गरेका छन्। खेलअघि उनले नेपालको टिम भावना बलियो भएको बताउँदै उपाधि जित्ने बताएका हुन्। नेपाली कप्तान निरु थापाले पनि उपाधि जित्नका लागि कडा मिहिनेत गर्ने बताएकी छिन्।
हरि खड्का - प्रशिक्षक (नेपाली राष्ट्रिय महिला टिम)
फाइनलसम्मको यात्रा तय भएको छ। भारत दक्षिण एसिया क्षेत्रमा स्थापित टिम हो। हामी स्थापित हुने क्रममा छौं।
मैले महिला टिम सम्हालेपछि हामीले भारतविरुद्ध अहिलेसम्म २ वटा खेल खेल्यौं। एउटा बराबरी र एउटामा जित हात पार्न सफल भयौं।
भारत सधैं बलियो टिम हो। उनीहरुको तीन चार जना मुख्य खेलाडीलाई रोक्नु पर्छ। हामीले आफ्नो बलियो पक्षलाई प्रयोग गर्नु पर्छ।
भारतको विंगमा राम्रो देखिएको छ। प्लेमेकयरलाई रोक्न हामी कोशिस गर्छौं।
हामी आक्रामक खेलमा विश्वास गर्छौं। तर हामीले आफु बचेर खेल्नु पर्छ। हाम्रो टिम सन्तुलित छ। आत्मविश्वास पनि बढि छ।

अघिल्लो खेलमा हामीलाई अलि गाह्रो भएको थियो। किनभने रक्षात्मक खेल्ने टिमसँग खेल्न गाह्रो हुन्छ। श्रीलंकाले डिफेन्समा बढि ध्यान दिएको थियो। तर भारतले रक्षात्मक खेल्छ जस्तो लाग्दैन। उनीहरुले पनि टोटन फुटबलमा विश्वास गर्ने भएका कारणले केहि सजिलो हुन्छ जस्तो लाग्छ। भोलि सावित्रालाई खेल्न अरु टिम भन्दा अलि सजिलो हुने विश्वास छ।
खेलाडी हुनु र प्रशिक्षक हुनुमा धेरै नै फरक छ। म खेलाडी हुँदा एक पोजिसनलाई मात्र हेर्नु पर्थ्यो। अहिले सबै प्रतिद्वन्द्वीको देखि आफ्नो टिमको बलियो र कमजोर पक्ष केलाउनु पर्छ। प्रशिक्षक हुनु गाह्रो काम हो।
यो हाम्रो घरेलु मैदान हो। हामी भारतको रेकर्ड भंग गर्न तयार छौं र उपाधि जित्ने विश्वास छ। हामीले भारतसँग पछिल्लो २ खेलमा निकालेको नतिजाले पनि आत्मविश्वासी छौं। भोलि हाम्रो दिन हो र हामी रेकर्ड बनाउछौं।
भारतीय फुटबलमा धेरै लगानी छ। उनीहरुले विभिन्न देशमा गएर खेल खेलेका छन्। हाम्रो हतियार भनेको फाइटिङ स्पिरिट हो। प्राविधिक रुपमा भारत अहिले पनि बलियो छ। पछिल्लो समय हामीले धेरै सुधार गरिहेका छौं। यसअघि भारतले नेपालीमाथि हाबी भएर खेल खेल्थ्यो। तर अहिले हटेको छ। जुन हाम्रो लागि बलियो पक्ष हो।
अहिलेको महिला टिमले पहिलो पटक धेरै दर्शकको अगाडि खेलिरहेको छ। विराटनगरमा आउने दर्शकले नेपाली खेलाडिलाई अझ बढी आत्मविश्वास बढाएको छ। दर्शकबाट कहिलेकाँहि आउने हुटिङबाट केहि हतोत्साहित हुन सक्छन् तर त्यसलाई ह्यान्डल गर्न मैले सिकाइसकेको छु।
भोलि इतिहास रच्ने दिन हो। दबाब त हुन्छ। हामीले प्राविधिक रुपमा जित्ने भन्दा पनि मिहिनेतले जित्ने हो। अलिकति बढी मिहिनेत गर्नु पर्छ। दुवै टिमको उत्तिकै सम्भावना छ। जसले पाएको अवसर सदुपयोग गर्न सक्छ। त्यसको पक्षमा खेल जान्छ। तर लिग चरणको जति दबाब महसुस गरेको छैन।
निरु थापा - कप्तान(नेपाली महिला राष्ट्रिय टिम)
भोलिको खेल जसरी पनि जित्नु पर्छ। त्यसको लागि कडा मिहिनेत गर्छौ। हामीलाई जुन कुरा सिकाइएको छ। त्यो मैदानमा उतार्न सक्यौं भने हामीले अवश्य पनि उपाधि जित्न सक्छौं।
हामीलाई भारत भन्ने बित्तिकै डर लाग्थ्यो। तर प्रशिक्षकले दिएको उत्प्रेरणाले त्यो कम हुँदैछ गएको छ। त्यसैले ओलम्पिक्स छनोटमा हामीले बराबरी खेल्न सफल भयौं। हिरो कप पनि हामीले त्यसै गरी खेल्यौं। हामीलाई भारतलाई जित्न सक्छौं भन्ने आँट भएको थियो। अहिले पनि टिम वर्क गर्यौ भने हामीले अवश्य उपाधि जित्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।