काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।
८१ प्रतिशत हिन्दूहरु रहेको मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ।
विश्वकै हिन्दूहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए।
संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ।
'८१ प्रतिशत भन्दा बढि हिन्दूहरु बसोबास रहेको मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापना गर्न सरकारलाई दबाब दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो,' नेता तामाङले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दू राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।