काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको जारी मत गणनामा प्रगतिशील–वामपन्थी समूहले अग्रता कायमै राखेको छ।
मध्याह्न १२ बजेसम्मको मत परिणाम अनुसार प्रगतिशील–वामपन्थी समूहबाट अध्यक्षका उम्मेदवार बनेका चण्डेश्वर श्रेष्ठले २ सय ८८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउदै लोकतान्त्रिक समूहका सुनील पोखरेलले १ सय ९१ मत ल्याएका छन्।
महासचिवमा पनि अगाडि रहेका प्रगतिशील समूहका सुरेन्द्र थापाले ३ सय ३ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक प्यानलबाट उनीसँग लीलामणि पौडेल प्रतिस्पर्धामा छन्।
हिजो भएको प्रारम्भिक मतगणनामा पनि प्रगतिशील पक्षले नै अग्रता हासिल गरेको थियो। मोरङ, इलाम र झापाको मतपेटिका गणनाको क्रममा प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार ७१ मत प्राप्त गरेका थिए भने प्रजातन्त्रवादी समूहका सुनिल पोखरेलले ३६ मतका साथ श्रेष्ठलाई पछ्याएका थिए।
झापा, मोरङ र इलामको मतगणना सकिँदा वामपन्थी समूहको प्रारम्भिक अग्रता कायम रहेको छ।
१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबारमा भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो । उपत्यकाभित्र ४ हजार ४३ मत खसेको थियो। त्यसमध्ये प्रजातन्त्रवादी समूहको वर्चश्व रहेको सर्वोच्च बारमा ६ सय ४४ मत खसेको थियो ।
यसैगरी वामपन्थीहरुको वर्चश्व रहेको पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो। काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको छ।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्यसमिति २५ सदस्यीय हुनेछ। अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।