काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाको 'जेनेटिक मेमेरी'को कुरा फेरि दोहोर्याएका छन्।
मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तान भएकोले 'जेनेटिक मेमोरी'ले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको बताए।
चैत १३ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा आयोजित एउटा कार्यक्रममा पनि नेपालीहरुसँग विद्वान पुर्खाका 'जेनेटिक मेमोरी' भएको बताएका थिए।
पढ्नुहोस्– विद्वान् पुर्खाको 'जेनेटिक मेमोरी' हामीसँग छ, उदाहरण आदित्य दाहाल हुन् : प्रधानमन्त्री
'हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तीकरण गर्न सकेनन्', मंगलबारको कार्यक्रमा प्रधानमन्त्री ओलीले भने, 'तर, उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर दैनिक जीवनमा त्यसको उपयोग गरे। जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो।'
प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिँड्न नहुने बताए। 'हामी गरीब छौं, अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन', उनले भने, 'हामी विद्वान पूर्खाका सन्तान हौं। केही समयसम्म शासकको कमजोरीले अलि पछि परिएको हो। तर अब त्यस्तो अवस्था रहँदैन।'
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँनयाँ अनुसन्धानमा लाग्न सुझाएका छन्। 'समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस्। तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।