काठमाडौं– पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका ४२ कलेजमा अध्ययनरत स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका ३ सय ९१ विद्यार्थीको भविष्य अन्योलमा पर्ने भएको छ।
राजधानीका नाम चलेका कलेजसहित उपत्यका बाहिरका ती कलेजले आम्दानी बढाउनका लागि मापदण्डविपरीत बढी विद्यार्थी भर्ना लिएको खुलेका हो। मापदण्डविपरीत भर्ना भएका विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि कलेज सञ्चालकले विश्वविद्यालयका पदाधिकारीलाई प्रभावमा पारी निर्धारित परीक्षा तालिका अनिश्चितकालका लागि स्थगित गर्न सफल भएका छन्।
परीक्षा गत शुक्रबारदेखि सुरु हुने तालिका विश्वविद्यालयले सार्वजनिक गरेको थियो। तर, कलेज सञ्चालकले राजनीतिक दबाब र प्रभावमा परीक्षा स्थगित गराएका हुन्।
परीक्षा सुरु हुनु एक दिनअघि पोखरा विश्वविद्यालयले सूचना प्रकाशित गरी ‘विशेष कारणवश’ स्थगित गरिएको उल्लेख गरेको छ।

कलेजहरुले विश्वविद्यालयले बनाएको मापदण्डलाई कुल्चँदै विद्यार्थी भर्ना गरेका थिए। गत जेठमा बसेको विश्वविद्यालयको प्राज्ञिक परिषद्को ६८औं बैठकले विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड तय गर्ने निर्णय गरेको थियो। विश्वविद्यालयले सामाजिक शास्त्रका डिन प्राध्यापक इन्द्रप्रसाद तिवारीको संयोजकत्वमा गठन गरेको समितिले भर्नाका लागि न्यूनतम मापदण्ड सिफारिस गरेको थियो।
व्यवस्थापन संकाय डिनको कार्यालयले सोही समितिले गरेको सिफारिसका आधारमा कलेजहरुलाई गत साउन १० गते नयाँ मापदण्डबारे जानकारी गराएको थियो। उक्त मापदण्डमा कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने उल्लेख छ।


उक्त मापदण्डमा स्नातक तहका सबै कार्यक्रमका लागि न्यूनतम योग्यता ‘सी’ ग्रेड कायम गरिएको छ। विश्वविद्यालयले बनाएको उक्त मापदण्डविपरीत कलेजहरुले भने ‘डी’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि स्नातक तहमा भर्ना गरेका थिए। भर्ना र मासिक शुल्कबापत कलेजहरुले मोटो रकम असुलेको विद्यार्थीहरु बताउँछन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल अध्यक्ष रहेको एपेक्स कलेजले न्यूनतम योग्यता नपुगेका सबैभन्दा बढी विद्यार्थी भर्ना गरेको पाइएको छ। उक्त कलेजले स्नातक तहमा भर्ना हुनका लागि आवश्यक योग्यता नपुगेका २१ विद्यार्थीलाई भर्ना गरेको छ।
उक्त कलेजका प्रिन्सिपल एलपी भानु शर्माले मापदण्डका विषयमा कलेज र विश्वविद्यालयको बुझाइमा फरक परेकाले समस्या निम्तिएको बताए। प्राज्ञिक परिषद्ले हाल आएर औसतमा ‘सी’ ग्रेडलाई फरक तरिकाले व्याख्या गरेको उनले तर्क गरे।
‘कालो हो भनी लेखिएकोलाई फरक व्याख्या गरी आधा कालो/आधा सेतो भन्नु त ठिक भएन नि,’ उनले भने, ‘अपव्याख्या सच्याउने विश्वविद्यालयले प्रतिबद्धता जनाएको छ।’
शर्माले व्याख्या गरेअनुरुप प्राज्ञिक परिषद्को मूल्यांकन प्रणाली भने देखिँदैन। प्राज्ञिक परिषद्ले गरिएको निर्णयमा व्यवस्थापन संकायमा भर्ना हुन प्लस टूमा न्युनतम ‘सी’ ग्रेड ल्याउनु अनिवार्य छ।
पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्का एपेक्स कलेजका प्रिन्सिपलको तर्क मान्न तयार छैनन्।
डिन खड्काले प्राज्ञिक परिषद्ले यसअघि गरेको निर्णयको अपव्याख्या नगरिएको प्रस्ट्याए। उनले भने, ‘विश्वविद्यालय दीक्षान्त समारोह सक्ने कार्यमा लागेको छ। त्यो कार्यक्रम पूरा भएपछि यस विषयमा छलफल हुनेछ।’ खड्काले कुन रुपमा अघि बढ्ने अहिले नै भन्न नसकिने बताए।
प्राज्ञिक परिषद्को गत साताको बैठकले पूर्वनिर्धारित मापदण्ड हेरफेर नगर्ने जनाएको छ। मापदण्ड मिच्ने कलेजलाई कारबाहीका विषयमा भने उनी बोल्न चाहेनन्। साबिकको व्यवस्थाले ३ सय ९१ विद्यार्थीले परीक्षा दिन नसक्ने भने उनले प्रस्ट पारे।
पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कुल ५८ मध्ये इन्जिनियरिङ अध्यापन गराउने बाहेकका अधिकांश कलेजले निर्धारित प्रावधानलाई मिचेका हुन्।
स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाउने विद्यार्थीहरु व्यवस्थापन समूहका छन्। तोकिएको मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना गरेका राजधानी मोडेल कलेजका प्रिन्सिपल केपी पन्तले पनि विश्वविद्यालकै कमजोरी देखाएका छन्।
भर्ना भएका विद्यार्थीमध्ये ३ सय ९१ जनाले परीक्षा दिन नपाउने विश्वविद्यालयले निर्णय गरेसँगै स्नातक तहको परीक्षा अवरुद्ध भएको हो। कलेजहरुले परीक्षा प्रवेशपत्र वितरण गरिसकेपछि परीक्षा स्थगित गरिएपछि ती विद्यार्थीहरु अन्योलमा परेका छन्।
आवश्यक न्यूनतम योग्यता नपुगी भर्ना गरिएका ३ सय ९१ विद्यार्थीहरुले भने प्रवेशपत्र पाएका थिएनन्। एपेक्स कलेजमा अध्ययरत एक विद्यार्थी भन्छन्, ‘हामीलाई झुक्याएर कलेजले भर्ना गरेको बुझ्यौं। हाम्रो भविष्यको जिम्मेवारी कलेजले लिनुपर्छ। 'डी' प्लस ग्रेडले पनि भर्ना पाउँछन् भनेपछि हामी भर्ना भएका हौं।’
प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले कलेज र विश्वविद्यालयका पदाधिकारीलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेको छ। सत्तापक्षका विद्यार्थी संगठन भने यस विषयमा मौन देखिएका छन्।

नेविसंघको पोखरा विश्वविद्यालय इकाइका विद्यार्थी नेता नवराज त्रिपाठीले कलेजहरुले मोटो रकम लिएर भर्ना गरी विद्यार्थीको भविष्य अनिश्चित बनाएको बताए। अर्का एक विद्यार्थी नेताका अनुसार कलेज सञ्चालकहरुले यसअघिका वर्षहरुमा पनि विश्वविद्यालयलाई अनुचित प्रभाव पार्दै आएका थिए। उनले भने, ‘यसपटक विश्वविद्यालय अडानमा कायम रहेकाले परीक्षा स्थगित गर्ने अवस्था बन्यो।’
विश्वविद्यालयका डिन खड्काले मापदण्डविपरीत भर्ना गरेका कलेजलाई कारबाही हुने संकेत गरे। ‘कलेजले जबरजस्ती भर्ना गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको देखियो,’ उनले भने, ‘मापदण्डविपरीत भएका भर्नामा सम्झौता हुँदैन।’
मापदण्ड मिच्ने कलेजहरु
१, एपेक्स कलेज, मध्य बानेश्वर
२, साइम कलेज, काठमाडौं
३, राजधानी मोडल कलेज, काठमाडौं
४, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं
५, लिबर्टी कलेज, काठमाडौं
६, युनिग्लोब कलेज, काठमाडौं
७, स्किम्स कलेज, काठमाडौं
८, वृहस्पति कलेज, भैरहवा
९, तिलोत्तमा कलेज, रुपन्देही
१०, भिएस निकेतन, तीनकुने
११, नेसनल ओपन कलेज, काठमाडौं
१२, ला ग्रान्डी कलेज, पोखरा
१३, क्रिमसन कलेज, रुपन्देही
१४, अक्सफोर्ड कलेज, नवलपरासी
१५, नास्ट कलेज, कैलाली
१६, नोबेल कलेज, सिनामंगल
१७, व्रिक्टन कलेज, कञ्चनपुर
१८, एक्सेल कलेज, बानेश्वर
१९, एटलान्टिक कलेज, सामाखुसी
२०, एक्सिस कलेज, बुटवल
२१, सिद्धार्थ इन्टरनेसनल कलेज
२२, कामाद कलेज, सुकेधारा
२३, सिटिजन कलेज, सातदोबाटो
२४, एक्सेल बिजनेस कलेज, काठमाडौं
२५, क्षितिज इन्टरनेसनल, बुटवल
२६, क्वेष्ट कलेज, काठमाडौं
२७, अल्पाइन कलेज, बाँके
२८, प्लाटिनम म्यानेजमेन्ट कलेज, कालिकास्थान
२९, एमआइटी कलेज, कञ्चनपुर
३०, भिक्टोरिया कलेज, दाङ
३१,नेपाल वेस्टर्न म्यानेजमेन्ट कलेज, कैलाली
३२, रिट्ज हस्पिटालिटी एन्ड म्यानेजमेन्ट कलेज, ललितपुर
३२, सहिद रामनाथ कलेज, बालाजु
३३, वोस्टर्न इन्टरनेसनल, भरतपुर
३४, बुटवल मोडल कलेज ,रुपन्देही
३५, अपोलो इन्टरनेसनल, बानेश्वर
३६, अर्थभ कलेज, महाराजगन्ज
३७, शुभश्री एकेडेमी, तीनकुने
३८, मेधावी कलेज, शंखमुल
३९, भ्याली स्टेट कलेज, चितवन
४०, नर्भिक कलेज, हात्तीसार
४१, सेन्ट्रल कलेज, सिनामंगल
४२, एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।