जनकपुर– बारा र पर्साका हावाहुरी पीडितको भत्केको घर प्रदेश २ सरकारले बनाइदिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको उद्धार तथा राहत व्यवस्थापन समितिले करिब ५ लाख रुपैयाँको लागतमा तीन कोठे घर निर्माण गर्ने निर्णय गरेको छ।
बर्खाअघि निर्माण सक्ने लक्ष्य लिएको घर प्रि–फोव मोडलको हुने बताइएको छ। उद्धार तथा राहत व्यवस्थापन समितिको जनकपुरमा बसेको बैठकले ४ महिनाभित्र मै एकैनासको प्रि–फोव मोडलको घर बनाउनका लागि कामको थालनी समेत सुरु भएको समितिका संयोजक कानुन मन्त्री यादवले जानकारी दिए।
आइतबार साँझ आएको शक्तिशाली हुरीमा बारा र पर्साको आठवटा बस्तीका करिब १५ सय घर तहसनहस भएको प्रारम्भिक अनुमान छ।
राहत र उद्धारका लागि प्रदेश सरकारले आफ्ना दुई जना राज्यमन्त्री रहने गरी हेल्प डेस्कको समेत स्थापना गरेको छ।
बारा र पर्साका सुरक्षा र प्रशासनिक अधिकारीलाई समेत राखिएको हेल्प डेस्कले उद्धार र राहत वितरणको व्यवस्थापन गर्नेछन्।
यस्तै, हुरी प्रभावित क्षेत्रमा सोलार टुकी र सुधारिएको चुल्हो उपलब्ध गराउन प्रदेश सरकारले वैकल्पिक ऊर्जा केन्द्रलाई अनुरोध पत्र पठाएको छ।
मन्त्री यादवका अनुसार केन्द्रले एक/दुई दिनमै सोलार टुकी र सुधारिएको चुल्हो उपलब्ध गराउने आश्वासन दिएको बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।