काठमाडौं– घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। टुँडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्छ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन्।
परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ।
अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो।
घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रुपमा समेत लिइन्छ। यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।