तस्बिर : रमन सिवाकाेटी
काठमाडौं- आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपाल विजयी भएकाे छ। मलेसियाकाे क्वालालम्पुरमा भएकाे खेलमा सिंगापुर २ सय १७ काे फराकिलाे अन्तरले पराजित भएकाे हाे।
टस हारेर पहिलाे ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४६ ओभरमा २ सय ८२ रनमा अलआउट भएकाे थियाे।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको योगदान दिए। शतक बनाउन ५ रनले चुकेका उनले १ सय ५ बलमा ७ चौका र १ छक्का हिर्काए। त्यसअघि पवन सर्राफले ४७ रनको योगदान दिँदा रासिद खानले ४८ रन बटुले। भीम सार्कीले २६ र कमलसिंह ऐरीले ३१ रनको योगदान दिए।
४५ ओभरसम्म राम्रो स्थितिमा रहेको नेपालले ४६ ओभरमा ३ विकेट गुमाएको थियो। यो ओभरमा कप्तान पौडेल पहिलो बलमा आउट हुँदा कमलसिंह ऐरी पाँचौ र सूर्य तामाङ छैटौं बलमा आउट भएका थिए।
सिंगापुरका लागि एकै ओभरमा ३ विकेट लिएका अर्थव गुनेले ४ विकेट लिए भने विनित मेहता र राउल शर्माले २/२ विकेट हात पारे।
२ सय ८३ रनकाे लक्ष पछ्याएकाे सिंगापुर ३१ ओभरमा ६५ रनमा नै समेटिएकाे थियाे। नेपाली बलरसामू सिंगापुरका ब्याट्सम्यान निरीह सावित भएका थिए। सिंगापुरका लागि इसान स्वानीले सर्वाधिक २८ तथा प्रारम्भिक ब्याट्सम्यान साई भेनुगाेपालले १८ रनकाे याेगदान दिए। अन्य कुनै पनि ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन्। सिंगापुरका ४ खेलाडीले खाता नै खाेल्न सकेका थिएनन्।
नेपालका लागि खेलका 'प्लेयर अफ दि म्याच' पवन सर्राफले सर्वाधिक ३ तथा सुर्य तामाङ र कुशल मल्लले २/२ विकेट हात पारे। रासिद खानले एक विकेट लिएका थिए। सिंगापुरका २ जना खेलाडी रनआउट भएका थिए।
प्रतियाेगिताकाे दाेस्राे खेलमा नेपालले शनिबार युएईकाे सामना गर्नेछ।
प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएकाे विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।