काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका दुई फुटबलरले माल्दिभ्सको लिग खेल्ने भएका छन्। आगामी जुनदेखि सुरु हुने पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोर्ट्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेमजोङसँग सम्झौता गरेको हो। टिसी स्पोर्ट्स लिगको साविक विजेता हो।
विमलले माल्दिभ्सको क्लबबाट खेल्ने पुष्टि गर्दै नयाँ सुरुवात भएको बताए। यद्यपी उनले पाउने पारिश्रमिकको विषयमा केहि खुलाइएको छैन।
टिसी स्पोर्टसको भनाई उधृत गर्दै गोल नेपाल डटकमले विमल आगमी मेको अन्तिम साता माल्दिभ्स पुग्ने लेखेको छ।
यसअघि उनले बेल्जियम गएर त्यहाँको स्थानिय क्लबमा ट्रायल दिए पनि सफल भएका थिएनन्। गत सिजनको ए डिभिजन लिग च्यासल क्लबबाट खेलेका विमल त्यसअघि थ्रीस्टारमा आबद्ध थिए। उनले गत वर्ष भारतीय आइलिग क्लब मोहन बगानका लागि अन्तिम सत्रमा सम्झौता गरेका थिए। तर उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्।
यता राष्ट्रिय टिमका गोलकिपर किरण चेमजोङ पनि टिसी स्पोर्ट्समा आबद्ध भएका छन्। उनी लगातार तेस्रो सिजनका लागि क्लबमा आबद्ध भएका हुन्। २०१७ मा पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।
गत सिजत किरण भारतको पहिलो डिभिजनको लिग आई–लिगमा मिनेर्भा पञ्जाव एफसीबाट केहि महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भए।
किरण गत सिजन माल्दिभ्सको पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिग २०१८ को उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। चेमोजङले दोस्रो विदेशी लिगको उपाधि उचाल्ने अवसर पाएका थिए। यसअघि उनले गत वर्ष भारतको मिर्नेभा पन्जाव एफसीबाट खेल्दै आई लिगको उपाधि जितेका थिए।
२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।