काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) छपाइ र वितरणमा देखिएको समस्या दुई महिनाभित्र अन्त्य हुने जानकारी दिएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दहालले स्मार्ट लाईसेन्स छपाईका सबै समस्या आगामी दुई महिनाभित्र सुल्झाइसक्ने बताएका हुन्।
दुई महिनाभित्रमा नयाँ मेसिन ल्याएरै भएपनि लाइसेन्स छपाइको काम सक्काउने महानिर्देशक दाहालले बताए। ‘अहिले विभागले सीमित मेसिनबाट छपाइको काम गरिरहेका कारण लाखौंको संख्यामा कार्ड छाप्न ढिलाइ भएको थियो। अब हामी नयाँ मेसिन ल्याएर भएपनि यो समस्या बढीमा दुई महिनाभित्र सुल्झाउँछौं,’ दहालले नेपाल लाइभसँग भने।
अहिले विभागले अध्ययन, ड्राईभिङ भिसा र शान्तिसेनामा जानेहरुका लागि एक दिनमा नै लाईसेन्स उपलब्ध गराउँदै आएको छ। केही समयपछि ट्रायल पास गरिसकेका सवारी चालकलाई उनीहरूको घरमै लाईसेन्स पुर्याउन सकिने व्यवस्था विभागले मिलाउने दहालले बताए।
‘अहिले सवारी चालक अनुमतिपत्रका महिनौं कुरेर, घण्टौं लाइन बस्नुपर्ने अवस्था छ। त्यो अन्त्य त हुन्छ नै, हामी लाईसेन्स घरमै पुर्याउन कसरी सकिन्छ भनेरपनि सोचिरहेका छौं,’ दहाल भन्छन्।
घरमै लाईसेन्स पुर्याइदिए बापत विभागले थप केही शुल्क लिएर सक्ने दाहालको भनाए छ। ‘डाक शुल्कका रुपमा केही रकम सेवाग्राहीबाट लिन सकिन्छ। र त्यसबापत हामी घरमै लाईसेन्स पुर्याउने सेवा दिन्छौं,’ उनको भनाइ थियो।
अहिले स्मार्ट लाईसेन्स छपाइको काम भारतीय कम्पनी मद्रास सेक्युरिटि प्रिन्टर्सले गरिरहेको छ। उक्त कम्पनीले लाईसेन्स छाप्ने मास प्रिन्टर तथा स्मार्ट लाईसेन्स कार्ड उपलब्ध गराउने जिम्मा पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।