काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरुबाट चर्को रकम असुल्ने म्यानपावर व्यवसायीहरुले कर छली गर्ने गरेको खुलेको छ।
आन्तरिक राजस्व विभागमा आएको सूचनाका आधारमा केही व्यवसायीहरुले कर छली गर्ने गरेको खुलेको विभाग प्रमुख दीर्घराज मैनालीले बताए।
मैनालीका अनुसार बुधबार मात्रै काठमाडौं चक्रपथस्थित एसओएस म्यानपावर कम्पनीले कर छली गर्ने गरेको सूचनाका आधारमा विभागले छापा मारेको छ। मैनालीले नेपाल लाइभसँग भने, 'एसओएस म्यानपावर कम्पनीले आयअनुसार कर नतिरेको सूचनाका आधारमा हामीले म्यानपावरमाथि छानबिन प्रकृया अगाडि बढाएका छौँ।'
उनले अनुसन्धान सुरु भइसकेकाेले एसओएसले छली गरेकाे रकमबारे साेपश्चात् मात्रै यकिन भन्न सकिने प्रष्ट पारे। 'वैदेशिक रोजगारीमा धेरै कामदारहरु पठाउने तर थोरै संख्यामा मात्रै कामदार पठाएको देखाएर कर छली गरेकाे भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न म्यानपावरबाट केही कागजपत्रहरु ल्याएका छौं', विभाग प्रमुख मैनालीले भने, 'एसओएसले के-कति कर छली गरेको रहेछ, त्याे अनुसन्धानपछि मात्रै खुल्नेछ।'
यसरी करछली गर्ने अन्य म्यानपावर कम्पनीमाथि पनि छानबिन अगाडि बढाइने उनकाे भनाइ छ। उनले भने, 'यो त सुरूवात मात्रै हो, करछली गर्ने सबै म्यानपावरहरुलाई हामी अनुसन्धान गरी करको दायरामा ल्याउँछौं।'
म्यानपावर कम्पनीहरुले आफ्नो वार्षिक आम्दानीको विवरण वैदेशिक रोजगार विभागमा बुझाउने क्रममासमेत कम देखाएर बुझाउने गरेको खुलेको छ।
यसअघि आन्तरिक राजस्व विभागले स्काई ओभरसिज प्रालिका सञ्चालक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ बराबर रकम कर छली गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको थियो।
विभागका अनुसार स्काई ओभरसिजले साउदी अरब, कतार, मलेसिया, बहराइनलगायत मुलुकमा ठूलो संख्यामा कामदार पठाएर पनि थोरै संख्यामा कामदार पठाएको विवरण पेश गरी कर छली गर्ने गरेको पाइएकाे थियो।
तामाङविरुद्धकाे कर छलीको मुद्धा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।