काठमाडौं- सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने क्रममा भाटभटेनी कम्पनी प्रालिका प्रमुख सञ्चालक मीनबहादुर गुरुङले भूमाफियाद्वय डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पुरापुर साथ दिएको भेटिएको छ। नेपाल लाइभलाई प्राप्त मालपोत कार्यालय डिल्लीबजारको मिसिल (जुन केही समयदेखि गायब पारिएको थियो) मा गुरुङले आफू र आफन्तका नाममा ६२ कित्ता जग्गा राखेको देखिन्छ।
कुनै समय समय कुमारी बैंकको सञ्चालक समितिमा ढकालसँगै रहेका गुरुङले आफन्त र भूमाफियाहरुसँग सहकार्य गरी ठूलो मात्रामा सरकारी जग्गा हत्याउन सफल भएको सरकारी आँकडाले पुष्टि गर्छ। गुरुङले हात पारेको जग्गामा अधिकांश आफन्तका नाममा छन् भने कतिपय उनको डिपार्टमेन्टल स्टोर्सको नाममा समेत रहेको छ। एकल, संयुक्त र कम्पनी गरी उनको मातहतमा आएको जग्गाको क्षेत्रफल २०–८–०–३ (२० रोपनी ८ आना र ३ दाम) रहेको देखिन्छ।
सरकारी जग्गा हत्याउने क्रममा गुरुङको नाममा रहेका कित्ताहरु रहेको फाइल डिल्लीबजार मालपोत कार्यालयबाट गायब पारिएको थियो। प्रधानमन्त्री कार्यालयसहित उच्च पदस्थ सरकारी पदाधिकारीको बसोबास रहेको बालुवाटारस्थित जग्गाका अन्य मिसिल पनि गायब पारिएका थिए।
मिसिल गायब पार्ने क्रममा डिल्लीबजार मालपोत कार्यलयका तत्कालीन कर्मचारीले ढकाल, सुवेदी र गुरुङलाई साथ दिएको देखिन्छ। सरकारी जग्गा हडपेका जग्गाका मिसिल गायब पारिएको सन्दर्भमा समाचार प्रकाशित भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसको खोजी गरेको थियो।
सात दिन लगाएर छानबिन टोलीले पहिल्याएको कित्तामा गुरुङ र उनको आफन्तको नाममा ४ दर्जनभन्दा धेरै कित्ता रहेको छ। भूमाफिया ढकाल र सुवेदीसँगको मिलेमतोमा प्राप्त जग्गामध्ये सबैभन्दा धेरै कित्ता गुरुङले आफन्तद्वय इन्द्रदेव गुरुङ र नितु गुरुङको नाममा राखेका छन्। उनीहरुको नाममा विभिन्न क्षेत्रफलका २४ कित्ता जग्गा छन्।
.jpg)
इन्द्रदेवको नाममा १० कित्ता रहेको छ भने नितुको नाममा १४ कित्ता रहेको नेपाल लाइभलाई प्राप्त विवरणमा देखिन्छ। इन्द्रदेवको नाममा ३३, १२५, ११८, ५९९, १२३, २२, १२१, ६५१, १२५ र ११८ कित्ता जग्गा छन्। साथै नितुको नाममा कित्ता नम्बर ३५५, १७३, ३६७, ३८९, ३६५, ३६२, ३७७, ३७०, २९८, ३५१, ३८३, ३४, ३१, ३८० रहेका छन्।
यसरी हडपेको सार्वजनिक जग्गा मीनबहादुर गुरुङले आफ्ना भाइ पहलमान गुरुङको नाममा २ कित्ता राखेका छन्। ६६७ र १३२ नम्बरको कित्ता पहलमानको नाममा छ।
जग्गा हडप्ने क्रममा प्राप्त सरकारी जग्गालाई मीनबहादुरले छोरा र छोरीको नाममा पनि राखेका छन्। छोरा कल्याण गुरुङको नाममा १० कित्ता रहेको छ भने छोरी कामना गुरुङको नाममा ९ कित्ता जग्गा रहेको छ।
.jpg)
कल्याणको नाममा ३०२, १४, ६७१, ७३८, १३६, १२४, २४, ५, २५ र ७३८ कित्ता रहेका छन्। छोरी कामनाको नाममा ९ कित्ता रहेको विवरणमा उल्लेख छ। उनको नाममा ७८, ३००, २०८, ७३१, २८, १५७, ७३९ र ७४१ नम्बर कित्ता रहेको गायब पारिएको विवरणमा देखिन्छ।
मीनबहादुर गुरुङकै स्वामित्वमा रहेको भाटभटेनी कम्पनी प्रालिको नाममा १० कित्ता रहेको छ।
.jpg)
२८६, ५७, ५८, १७, ८२, ७९, १०, ८१, १२, १४ कित्ता भाटभटेनी प्रालिको नाममा नेपाल लाइभलाई प्राप्त विवरणमा देखिन्छ।
ढकाल र सुवेदीसँग पनि संयुक्त
मीनबहादुर गुरुङले आफन्तपछि भूमाफियाहरुसँग पनि संयुक्त नाममा जग्गा राखेका छन्।
.jpg)
पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया किटान गरेको डा ढकाल र सुवेदीसँग सँगोलनामा गरेका गुरुङको नामामा एक कित्ता जग्गा रहेको छ। सरकारी जग्गा आफ्नो नाममा पार्ने क्रममा यी तीनै जनाको नाममा कित्ता नम्बर ८३ को जग्गा रहेको छ।
गुरुङको एकल स्वामित्वमा ३ कित्ता रहेका छन्, ७४, ४१३ र १३७।
.jpg)
गुरुङका छोरा कल्याणसँगै ढकाल र सुवेदीका पत्नी उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा संयुक्त ३ कित्ता जग्गा रहेको छ। उक्त जग्गाको कित्ता नम्बर २७०, २८५ र २८२ रहेको छ।
गायब पारिएका मिसिल १०२४ र १०२५ नम्बरको खोजी गर्दा सरकारी जग्गामा गुरुङको हालिमुहाली देखिएको हो।
भू–माफियाको लगानीकर्ता कि साझेदार?
गुरुङले सार्वजनिक जग्गाको यत्तिका कित्ता किन र कसरी आफ्नो नाममा राखे भन्नेबारे मन्त्रालयको छानबिन समितिले विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ। यसरी गायब भएको विवरण अनुसार के गुरुङ ढकाल र सुवेदीको लगानीकर्ता वा साझेदारमध्ये एक हुन्? शंका गर्ने ठाउँ प्रशस्तै छ। भलै अनुसन्धानपछि पो प्रकरणले निकासा पाउला।
कुमारी बैंकमा साथसाथ
ढकाल र गुरुङको नाता पुरानै भएको उनीसँग जानकार रहेकाहरुको दाबी छ। यी दुवैले कुमारी बैंकको बोर्डमा रहँदा धेरै यस्ता कार्यहरु गर्ने गरेको स्रोतको भनाइ छ।
बालुवाटार जग्गा प्रकरण सुरु भएपछि ढकाल फरार छन्। सञ्चालक समितिको अध्यक्ष हत्याउन उनी लागिपरेका थिए। तर, जग्गा विवाद आएपछि सञ्चालक समितिबाट समेत उनको नाम हटाइएको छ।
सम्बन्धित समाचार :
‘भूमाफिया’को पक्षमा राणा परिवारको विज्ञप्ति : त्रिताल प्रतिवेदन पूर्वाग्रही, एकतर्फी र आधारहीन
बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।