काठमाडौं– आज जेठ १५ अर्थात् गणतन्त्र दिवस।
वषौँदेखि जनताले आफैँ संविधान लेख्ने गणतन्त्रको स्थापना गर्ने चाहाना पूरा भएको दिन वि.स. २०६५ जेठ १५ गते अर्थात् आज ११ वर्ष पूरा भएर १२ औँ वर्षमा प्रवेश गर्दैछौँ।
गणतन्त्रपछि देशको तीव्र आर्थिक विकास हुन्छ र रोजगारीका अवसर स्वदेशमै सिर्जना हुने अपेक्षा गरिएको थियो। तर यी दुबै काम अपेक्षित तीव्रताका साथ हुन सकेनन्। देशका मेरुदण्ड मानिने युवा जनशक्तिका लागि सरकारबाट कस्तो पहल हुँदैछ त? देशका गरिब जनताले गणतन्त्र पाए, गणतन्त्रसँगै उपलब्धि के पाए त? यो विषयको संक्षिप्त चर्चा गरौँ।
नेपाली श्रम बजारमा हरेक वर्ष करिब ५ लाख युवा जनशक्ति आउने गरेका छन्।
रोजगारीको खोजीमा भौँतारिरहेका युवा देशमा प्रशस्त रोजगारीका अवसरहरु नहुँदा हरेक महिना ४० हजारभन्दा बढी अर्थात् वार्षिक झण्डै ५ लाख नै युवा जनशक्तिको लामबद्ध लर्को वैदेशिक रोजगारीमा पुग्ने गरेको छ।

निरङ्कुश राजतन्त्रका विरुद्ध तत्कालीन विद्रोही पार्टी माओवादीको दश वर्षे जनयुद्ध (०५२/०५३ देखि ०६२/०६३) को त्रासले युवाहरु विदेशिने क्रम बढेको थियो।
जनयुद्धअघि २०५०/५१ सालदेखि सरकारले श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरुको तथ्यांक राख्न सुरु गरेको थियो।
०६२/०६३ जनआन्दोलन उत्कर्षमा थियो। यो बेला पनि विदेशिने क्रम रोकिएन। दश वर्षको जनयुद्धको समयमा ७ लाख ५७ हजार ६ सय ३५ जना युवाहरु विदेश गएको विभागको तथ्यांकमा उल्लेख छ।
सो समयमा त्रासकै कारण श्रम स्वीकृति नलिई भारतको बाटो हुँदै तेस्रो मुलुक पुग्ने कामदारहरुको संख्या निकै ठूलो हुनसक्ने सरकारले अनुमान गरेको छ।
१० वर्षे जनसंघर्षसँगै ०६५ जेठ १५ गते नेपाली जनताले गणतन्त्र प्राप्त गर्यो।
गणतन्त्र प्राप्तिसँगै नेपाली जनतामा ठूलो आशा पलायो, रोजीरोटीकै खोजीमा विदेश पुग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास जनतामा बढ्न थाल्यो।
तर १० वर्षे योगदान र संघर्षपछि प्राप्त भएको गणतन्त्रले पनि युवाहरु विदेश पलायन हुने क्रम भने रोकिएन। झन् झन् युवाहरु विदेश पलायन हुने क्रम बढ्न थाल्यो।
गणतन्त्र पाउनुभन्दा अघिल्लो वर्ष २०६४ सालमा २ लाख ४९ हजार कामदारहरु रोजगारीका लागि विदेश पुगेका थिए।
२०६५ सालमा जब राज्यले गणतन्त्र प्राप्त गर्यो सो वर्ष अघिल्लो वर्षको तुलनामा विदेशिने कामदारहरुको संख्या थोरै घट्यो। युवा जनशक्तिका लागि देशमा नै केही हुन्छ भन्ने आशा युवाहरुमा पलाउन थाल्यो।
अघिल्लो वर्षको तुलनामा रोजिरोटीका लागि विदेशिने युवाहरु ३० हजारले घटेर २ लाख १९ हजार कामदार मात्रै विदेशिए।
जनताले प्राप्त गरेको गणतन्त्रात्मक मुलुक पनि अपेक्षा अनुरुपको हुन सकेन, देशमा राजनैतिक पार्टी बढ्दै गए, मतभेद चुलिँदै गयो तर जनताका लागि देशमै काम गर्ने वातावरण सिर्जना हुन सकेन।
त्यसपछि क्रमशः विदेश पलायन हुने युवाहरुको लर्को लाग्न थाल्यो। २०६६ सालमा श्रम स्वीकृति लिएर २ लाख ९४ हजार कामदार विदेश पुगे।
२०६७ सालमा विदेशिने कामदारको संख्या झण्डै १ लाखले बढ्यो। सो वर्ष ३ लाख ५४ हजार कामदार कामको खोजिमा विश्वका विभिन्न मुलुक पुगे।
वि. स. ०६८ सालमा ३ लाख ८४ हजार कामदार बाहिरिएका छन्। ०६९ सालमा अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भई ४ लाख ५३ हजार कामदार विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ। ०७० सालमा विदेशीने कामदारको केही संख्या घटेर ४ लाख २७ हजार पुगेको छ।
२०७२ सालको सुरुवातमै बैशाख १२ गतेको भूकम्पपछि पनि रोजगारीका लागि विदेश पलायन हुने कामदारको संख्या घटेको छ। विनाशकारी भूकम्प र सरकारले २०७२ साल असार २१ गतेदेखि लागू गरेको फ्री भिसा फ्री टिकट नीतिसँगै यसवर्ष रोजगारीका लागि विभिन्न मुलुक पुग्ने कामदारको संख्या घटेको थियो।
०७२ सालमा भुकम्पका कारण झन्डै ३ लाख कामदार मात्रै विदेशिए।

०७२ सालको भूकम्पपछि देशमा नै विभिन्न भौतिक संरचनाहरु पुनः निमार्णका लागि रोजगारीका अवसर सिर्जना भएसँगै विदेश जाने कामदारहरुको संख्यामा केही कमि आएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँई बताउँछन्।
०७३ सालमा ३ लाख ८३ हजार कामदार रोजगारीका लागि विदेशिएका छन्। ०७४ सालमा ३ लाख ५४ हजार कामदार रोजगारीको खोजीमा विदेशिएका छन्।
०७५/०७६ साल सकिनै लाग्दा यस वर्षमा कामको खोजिमा विदेशिने कामदारको संख्या ४ लाख नाघ्ने अनुमान गरिएको छ। हरेक महिना ४० हजारभन्दा बढी कामदारहरु रोजगारीको खोजिमा विदेशिने गरेको विभागको तथ्यांकमा उल्लेख छ। देशले गणतन्त्र प्राप्ति गरेसँगै ४० लाखभन्दा बढी कामदारहरु रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका छन्।
सरकारसँग छैन विदेशबाट फर्किनेको तथ्यांक
गणतन्त्र प्राप्तिसँगै कति कामदारहरु विदेशबाट फर्किए वा नेपाल फर्किएर कति कामदारहरुले के पेशा व्यवसाय सञ्चालन गरिरहेका छन् भन्ने बारे सरकारसँगै नै तथ्यांक छैन।
वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको तथ्यांक राख्न ०७५/०७६ मा सुरु गरिने भनिएपनि वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको तथ्यांक राख्न विभागले अझै सुरु गर्न सकेको छैन।
वैदेशिक रोजगारबाट फर्किएका कामदारहरु फेरि विदेश जाने गरी वा नेपालमै केही व्यवसाय सञ्चालन गर्ने गरी फर्किएका हुन् भन्ने सम्पूर्ण जानकारी हुने गरी विभागले तथ्यांक राख्न पहल गरिरहेको विभागका निर्देशक भोलानाथ गुरागाँई बताउँछन्।
६ हजारभन्दा बढीको विदेशमा मृत्यू, करिब २ हजार अंगभंग
२०६५ देखि हालसम्म रोजगारीका क्रममा विदेशिएका ६ हजारभन्दा बढी कामदारहरुको मृत्यू भइसकेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। जसमा झन्डै २ हजार कामदार अंगभंभ भएका छन्। कार्यस्थलमा दुर्घटनामा परेर वा विभिन्न रोगहरुका कारण पनि वैदेशिक रोजगारमा जाने कामदारहरुको मृत्यू तथा अंगभंग हुने गरेको वोर्डका उपसचिव दीनबन्धु सुवेदी बताउँछन्।
रोजगारीका क्रममा मृत्यू भएका परिवारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट वैदेशिक रोजगार वोर्डले प्रतिपरिवार ७ लाखसम्म आर्थिक सहायता प्रदान गर्दै आएको छ। अंगभंग भएका कामदारहरुलाई समेत बोर्डले अंगभंगको प्रकृति हेरेर सोही आधारमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
वैदेशिक रोजगारीकै क्रममा गम्भिर दुर्घटनामा परेर वा रोगले आक्रमण गरेर कतिपय कामदारहरु कोमामा पुग्ने गरेका छन्। वषौँदेखि कोमामा रहेका कामदारलाई भने सरकारले उपेक्षा गर्दै आएको छ।
४ हजार ४ सय ८२ अर्ब रेमिट्यान्स
०६५ सालदेखि ०७४/०७५ सम्म वैदेशिक रोजगारीमा पुगेका कामदारबाट ४ हजार ४ सय ८२ अर्ब रेमिट्यान्स प्राप्त भएको छ। वैदेशिक रोजगारबाट हरेक वर्ष अर्बौँ रेमिट्यान्स प्राप्त भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारबाट ०६५ देखि ०६८ सम्म हरेक वर्ष २ सय अर्बभन्दा बढी रेमिट्यान्स प्राप्त हुँदै आएकोमा ०६९ देखि ०७५ सम्म हरेक वर्ष ५ सय अर्बदेखि ६ सय अर्बसम्म रेमिट्यान्स प्राप्त हुन थालेको छ।
वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स तुलनात्मक रुपमा हरेक वर्ष बढ्दै गइरहेको छ। रेमिट्यान्स बढ्दै जानुमा रेमिट्यान्स प्राप्तिको अबैधानिक मार्ग हुन्डीको प्रयोगमा कमी आउनु रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ वैदेशिक रोजगारीको इतिहास
जनयुद्ध सुरु हुनुअघि २०५० सालदेखि ०५२ सालसम्म दुई वर्षको अवधिमा अन्तिम श्रम स्वीकृति ५ हजार ७ सय ६४ जना कामदार पुगेका थिए।
राजतन्त्रमा पनि रोजीरोटीकै लागि परदेशिने कामदारको संख्या निकै कम थियो जतिबेला देशमा शान्ति थियो।
जनयुद्धको सुरुवातसँगै विदेशिनेको संख्या बढ्यो
०५२ साल देखि देशमा जनयुद्धको सुरुवात हुन थाल्यो। देशमा बसेर काम गर्न युवाहरुमा एक किसिमको त्रास बढ्दै गयो।
त्यसपछि ०५२ सालदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या क्रमश बढ्दै गएको देखिन्छ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ०५२ सालमा अन्तिम श्रम स्वीकृति लिएर २ हजार बढी कामदार विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगेका छन्।
०५३/०५४ मा ३ हजार २ सय ५९ जना कामदारहरु परदेशिएका छन्। ०५४/०५५ मा सो संख्या बढेर ७ हजार ७ सय ४५ पुगेको छ। ०५५/०५६ मा २७ हजार ७ सय ९६ जना कामदारहरु विदेशिए।
२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भएसँगै त्यसपछि राजा ज्ञानेन्दले राज्यसत्ता हातमा लिए।
देशमा राजतन्त्रको विरोध भइरहेका बेला भएको रहस्यमय दरबार हत्याकाण्डपछि राज्य सत्ता सम्हाली रहेका राजा ज्ञानेन्द्रको चर्को विरोधसँगै देशमा आन्दोलनले चर्को रुप लिँदै गयो।
०५८ सालदेखि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै बढ्यो। ०५८/०५९ मा विभागबाट अन्तिम श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा १ लाख ४ हजार ४७ कामदारहरु पुगे।
आव ०५९/०६० मा १ लाख ५ हजार ४३ जना कामदारहरुले त्रासका कारण परदेशको बाटो रोज्न बाध्य भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।