काठमाडौं- खुसी लिन हिडेंका श्रीमान्को बाटो कुर्दाकुर्दै समयले एक दशक फड्को मार्याे। उर्जाशील उमेरमा बुढ्यौलीले छोएजस्तै गरी अनुहार चाउरीन थाल्याे। त्यो बेला २८ वर्षकी सिन्धुलीकी सविता राई अहिले ३८ वर्षकी भइन्। ‘बाटो कुर्दाकुर्दा १० वर्ष बित्यो। उहाँ आउनु भएन।' सविता भन्छिन्, 'आफूलाई श्रीमान्को चिन्ता, साहुलाई पैसाको चिन्ता छ।’
राम्राे कमाइ हुन्छ भन्ने सुनेर विसं २०६६ सालमा म्यानपावर कम्पनीलाई ९५ हजार बुझाएर मलेसिया उडेका सविताका श्रीमान् सुकुले राई अझै घर फर्किएका छैनन्। को फर्निचर कम्पनीमा काम गर्न मलेसिया हिडेका सुकुलेलाई कम्पनीले मलेसियाको एक जंगल नजिकै खेतीपातिकाे काममा पुर्यायाे। उनले याे कुरा फोनमार्फत् जानकारी गराएका थिए। ‘फर्निचरको काम भनेर मलाई जंगलमा ल्याएको छ। खेतबारीको काम छ। तलब पनि एकदमै कम छ।' सुकुलेले श्रीमतीलाई फाेनमा सुनाउथे।
गएको ३ वर्षसम्म परिवारसँग सुकुलेको राम्रै कुराकानी हुन्थ्याे। हप्तामा एकपटक भएपनि सुकुलेले फोन गरेकै हुन्थे। थोरै भएपनि पैसा पठाइरहेका थिए। सविता खेतीपाति गर्थिन्। सवितालाई थाइराइडको समस्या थियो। बेलाबेलामा बिरामी पनि हुन्थिन् उनी।
श्रीमान्ले मलेसियाबाट पठाएको रकम साहुको ऋण तिर्नसमेत नपुगेकाे उनले सुनाइन्। ३ वर्षपछि सुकुलेकाे फाेन आउन छाड्याे। उनी बेखबर भए। उनले न त फोन गरे न त कुनै खबर नै पठाए। मोबाइल पनि स्वीच अफ भयाे। सुकुले बेखबर भएसँगै परिवारमा चिन्ता थपियो। तर, ऋण दिने साहुलाई भने पैसाकै चिन्ता थियो।
‘घर जग्गा लिलाम गर्नलाई छैन्। ऋणको साँवा बल्ल-बल्ल सकिएको छ।' सविताले भनिन्, 'ब्याजमात्रै झण्डै साँवा जति नै ७० हजार पुगिसकेको छ। तिर्न नसक्दा उहाँको नागरिकता नै साहुले जफत गरेर राखिदियाे।’
बेखबर सुकुलेकाे खाेजीका लागि सविता काठमाडौं आइन्। उनले म्यानपावर, वैदेशिक रोजगार बोर्ड, विभाग, सिंहदरबारको ढोका ढक्ढक्याइन्। विभिन्न सामाजिक संस्थासम्म पनि पुगिन्। तर, उनकाे पत्ताे लागेन।
‘कसैले तेरो श्रीमान् मरिसक्यो होला भनेर पनि अड्कल काट्थे। कसैले अब तेरो श्रीमान् उतै हरायाे भनेर सुनाउथे’, दन्त्य कथा जस्तै आफ्नै कथा सुनाइरहँदा सविताका आँखा टिलपिलाई रहेका थिए। उनले भनिन्, 'मलेसियाको ठाउँ कसैले मारेर फालिदियो कि भनेर मुटु ढुकढुक गर्थ्याे।’
एकातिर बेखबर श्रीमान्को चिन्ता अर्कोतर्फ छोराछोरीकाे जिम्मेवारी
दिन, महिना गर्दै वर्षहरु बित्दै गए, तर सुकुलेको कुनै खबर आएन। सविताको थाप्लोमा चिन्ता र जिम्मेवारी दुवै थपियो। ‘छोरा-छोरी पढाउनु पर्याे, खान लगाउन दिनै पर्याे। उहाँ विदेश गएपछि सजिलो होला भन्ने सोचेर पठाएँ, झन्-झन् गाह्रो हुँदै गयो।कति रोएँ, चिच्याएँ। जति रोए-चिच्याए पनि के गर्नु आफ्नो दुःख आफैँसँग छ।’ सविताले लामो सास तानिन्।

छोरा-छोरी हुर्काउन र पढाउन सविता एक्लैले संघर्ष गरिन्। मजदुरी गरेर उनले छोरा-छोरी पढाइरहेकी छन्। सविता र सुकुलेका ३ सन्तान छन्। दुई छोरा एक छोरी। सुकुलेले सानैमा छाडेर गएका उनीहरु अहिले ठूल्ठूला भइसकेका छन्। ‘बाबा खोइ?’ भनेर छोरा-छोरीले सोध्दा जबाफ दिन गाह्रो छ सवितालाई।
‘मलेसियामा खुसी खोज्दै हुनुहुन्छ भनेर कसरी भनौँ, कुनै अत्तोपत्तो छैन्? सबैले मरिसकेको अड्कल लगाउथे। म अरु के जबाफ दिऊ? आफ्नो आत्माले विश्वास नै गरेको थिएन’ सविताले बताइरहँदा वरपर सन्नाटा छाएको थियो।
अघिल्लो वर्ष एक दिन अचानक सुकुलेले सवितालाई फोन गरे। ‘हेलो सविता, म तिम्रो सुकुले, के छ खबर, आराम छौ? छोरा-छोरीलाई कस्तो छ? म यहाँ एक फिलिपिनोसँग फसेको छु। तिमीलाई सुनाउँ पनि कसरी, नसुनाउँ पनि बन्धकजस्तै बनाएर राखिएको छ मलाई।’ सुकुलेले एकै सासमा सबै सुनाइभ्याए। सविता छाँगाबाट खसेजस्तै भइन्।
सुकुलेले उनकी फिलिपिनो श्रीमतीसँग लुकेर कुरा गरेका हुन रे। त्योभन्दा अगाडी पनि आफन्तलाई फोन गर्न खोज्दा उनले फोन खोस्थिन् रे। कसैसँग कुरा गर्न नदिइ बन्धकजस्तै बनाएको दुखेसो सुकुलेले सवितासँग पोखेका थिए।
त्यसको केही दिनमा सुकुलेले लुकेर इमोमा सवितालाई भिडियो कल गरे। इमोमा उनकी फिलिपिनो श्रीमती र उनको फोटो समेत पठाएका रहेछन्। ‘तिमी पनि बिरामी छौं, मराे पनि यो हालत भयो। तिम्रो र छोरा-छोरीको असाध्यै सम्झना आएको छ। म तिमीहरुसँगै फर्किन चाहान्छु। मलाई जसरी हुन्छ फर्काउनु।’ भिडियो वार्तामा सुकुलेले रुँदै भने। ‘बोल्दाबोल्दै फोन काटियो, एक वर्ष भइसक्यो त्यसपछि उहाँ सम्पर्कमा आउनु भएको छैन,’ सविता भक्कानिइन्, ‘मोबाइल खोसेर होला पुरै कुरा नसकिँदै फोन काटियो।’
भिडियो वार्तामा सुकुले रोएको सम्झिँदा सवितालाई बढी पीडा हुँन्छ। अहिले उनलाई कसरी नेपाल फर्काउने भनेर सविता चिन्तामा छन्। ‘मैले धेरै पढेकी पनि छैन, छोराहरुले फेरि फोन गर्दा त्यो नम्बरमा फोन लाग्दैन, न त उहाँले फोन गर्नु भएको छ। अहिले उहाँ कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी नै छैन।’ सविताले भनिन्, 'उहाँलाई कसैले बन्धक बनाएर राखिराख्नु भएको छ भने जसरी पनि घर पठाइदिनु होला। हामी रोएर बसेका छौँ, छोरा-छोरी पनि बाबा आउने बाटो कुरिरहेका छन्।’
सविताको गला अवरुद्ध भयो। उनी अर्कोतिर फर्केर रोइरहिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।