काठमाडौं– आइतबार बिहान वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलमा नेपाल लाइभकर्मी पुग्दा चितवनका जितु गुरुङ कर्मचारीसँग चर्काचर्की गरिरहेका थिए। शनिबार बिहान ११ बजेको फ्लाइट छुटेको भन्दै गुरुङले कर्मचारीसँग आक्रोश पोखेका हुन्।
‘मेरो टिकटको पैसा अब कसले बेर्होछ। पटक-पटक आउँदा पनि काम बन्दैन, जहिले पनि सर्भरले काम गरेन मात्रै भन्छ,' उनले जङ्गिदै भने, 'मेरो टिकटको पैसा कार्यालयले बेर्होछ? उता कम्पनीले पनि फाइन लगाउँछ।’ जितु गुरुङसँगै उनका साथी सञ्जिव ढकालको पनि फ्लाइट छुटेको छ। उनीहरुजस्तै अन्य धेरै युवाहरुले फ्लाइट छुटेको गुनासो गरे।
काठमाडौं कार्यालय ताहाचलले भने सेवाग्राहीको फ्लाइट नछुटेको दाबी गरेको छ। ‘सेवाग्राहीको फ्लाइट नछुटोस् भनेर हामीले शनिबार पनि कार्यालय खोल्यौँ। आइतबार दिँउसोसम्मको टिकट भएका सेवाग्राहीको श्रम स्वीकृतिको काम हामीले शनिबार नै सकेका छौँ,’ काठमाडौं कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले नेपाल लाइभसँग भने।
केही दिनयता विभागको सर्भरमा समस्या आइरहेको छ। विभागको प्राविधिक टोलीले सर्भरमा आएको समस्या हटाउनका लागि काम गरिरहेकाे छ। तर सर्भरमा समस्या भने दोहोरिरहेको छ।
.jpg)
गत बिहीबार दिनभरजसो नै सर्भरमा समस्या भएपछि काम ठप्प जस्तै भएको थियो। शुक्रबार पनि केही समय चल्ने र पुनः समस्या देखिने गरेकाे थियो। शनिबार पनि कार्यालय खुला गरी कर्मचारीहरुले सकेसम्म सबै सेवाग्राहीको फ्लाइट नछुट्ने गरी सेवा प्रवाह गरिएको कार्यालयले जनाएको छ।
आइतबार सर्भरले काम गरिरहेको छ, तर विस्तारै चलिरहेको कर्मचारीहरुले बताएका छन्। सर्भरमा समस्या हुँदा बुक गरिसकेको टिकट रद्द गर्नुपर्ने समस्या म्यानपावर व्यवसायीहरुले समेत झेल्नु परेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए।
‘शुक्रबारमात्रै विभिन्न म्यानपावरहरुको ४ सयभन्दा बढी टिकट रद्द गर्नु पर्याे, शनिबार पनि २ सय ५० भन्दा बढी टिकट रद्द भयो,’ संघका महासचिव श्रेष्ठले भने, ‘व्यवसायीहरुले निकै ठूलो आर्थिक क्षति झेल्नु पर्याे। अब महानिर्देशकज्यूले यो समस्या दोहोरिँदैन भन्नु भएको छ।’
विभागको सर्भरमा पटक-पटक यस्ता समस्या दोहोरिएपछि प्राविधिक टोलीले दुईवटा सर्भर तयार गरेको जनाएको छ। अब एउटा सर्भरमा समस्या हुँदा अर्को सर्भरमार्फत् सेवा प्रवाह गरिने हुँदा यस्तो समस्या नदोहोरिने दाबी गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।