काठमाडौं- कोरोना भाइरसको मेन ल्यान्ड चीनमा सवारीसाधन बिक्री उल्लेख्य रुपमा गिरावट आएको छ। २०२० को फेब्रुअरीमा चीनको सवारी बिक्री हालसम्मकै धेरै ७९.१ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्षको फेब्रुअरीको तुलनामा यो गिरावट आएको हो।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कोरोना भाइरसका कारण सवारीको माग घट्दा सवारी बिक्री समेत प्रभावित भएको हो। रोइटर्सका अनुसार विश्वको ठूलो अटो बजार चीनमा मासिक सवारी बिक्री घट्दा अर्थतन्त्रमै प्रभाव गरेको छ।
चाइना एशोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सिएएएम)का अनुसार २०२० को फेब्रुअरीमा सवारी दर्ता घटेर ३ लाख १० हजारमा सीमित भएको छ। चीनमा कोरोना भइरसका कारण ३१ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
चीनले सवारी उत्पादकका लागि इन्सन्टिभ दिने अनुमान गरिएको छ। टोयोटा मोटरदेखि ग्रेटवाल मोटरसम्मले उत्पादन कटौती गरेको बताएका छन्। सिएएएमले यो वर्षको पहिलो ६ महिनामा सवारी बिक्री १० प्रतिशतभन्दा बढीले कमी आउने अनुमान गरेको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण विश्वमा महामारी फैलिएको घोषणा बुधबार गरेको थियो। हालसम्म विश्वभरका १ सय १८ देशका १ लाख २१ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। यसको प्रभाव विश्व अटोबजारमा देखिनेछ।
गत वर्ष चीनमा सवारी बिक्री ८.२ प्रतिशतले घटेको थियो। यसको मुख्य कारण अमेरिकासँगको आर्थिक तनाव र प्रदूषणलाई मुख्य कारण मानिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।