काठमाडौं–सोमबारदेखि सवारी मर्मत गर्ने कारखाना (वर्कसपहरु) बन्द हुने भएका छन्। कोरोना भाइरसका कारण सरकारले अत्यावस्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै अटोमेकानिक्सहरुले यस्तो निर्णय गरेका हुन्।
आइतबार बसेको नेपाल अटो मेकानिक्स व्यवसायी संघको बैठकले उक्त निर्णय गरेको हो। संघले आफ्ना सदस्यहरुलाई सोमबारदेखि ७ दिनसम्म सम्पूर्ण वर्कसप बन्द गर्न सूचना गारी गरेको छ। शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थिए।
सरकारको उक्त निर्णयसँगै संघले विज्ञप्तिमार्फत सम्पूर्ण ग्यारेजहरु चैत १० गतेबाट ७ दिनसम्म बन्द गर्न भनेको छ। साथै, संघले अत्यावश्यक सेवा प्रदान गर्ने सवारीसाधनको हकमा भने आवश्यक सावधानी अपनाएर मर्मत गर्न भनेको छ।
अस्पताल, सुरक्षा निकायका सवारीसाधन तथा एम्बुलेन्सको मर्मत भने नरोकिने संघले जनाएको छ। यस्ता सवारी मर्मत गर्नुपरे मास्क, पन्जा, स्यानिटाइजरजस्ता संक्रमण सुरक्षाका उपायहरु अपनाउन संघले सदस्यहरुलाई आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।