काठमाडौं–भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै भारत सरकारको आग्रहमा कम्पनीले उक्त संख्यामा भेन्टिलेटर बनाउने भएको हो।
मारूती सुजुकीले भेन्टिलेटरसँगै मास्क तथा अन्य प्रोटेक्टिभ इक्युपमेन्टसमेत उत्पादन गर्ने छ। हाल मारूती सुजुकीलगायत सबैजसो सवारी उत्पादक कम्पनीले कोरोनाका कारण सवारी उत्पादन स्थगित गरेका छन्।
मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि एजभा हेल्थलेयरसँग समन्वय गरेको छ। एजभाले नियमित रूपमा भेन्टिलेटर उत्पादन गर्दै आएको छ। मारूती र एजभा हेल्थकेयरले संयुक्त रुपमा काम गरे छोटो समयमा ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुने अटोडट एनडिटिभीले लेखेको छ।
यसरी संयुक्त रूपमा भेन्टिलेटर उत्पादन हुँदा मासिक १० हजार थानभन्दा धेरै उत्पादन हुने अनुमान गरिएको छ। भेन्टिलेटरमा प्रयोग हुने प्रविधि, पर्फमेन्सलगायत अन्य विषयमा एजभा हेल्थकेयर जिम्मेवार हुनेछ। त्यस्तै मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि आवश्यक सामग्री, भेन्टिलेटरको गुणस्तर नियन्त्रण सहितको काम गर्ने छ। ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुँदा गुणस्तरमा आउन सक्ने कमजोरीलाई विशेष जोड दिएको छ।
मारूती सुजुकीका अध्यक्ष आरसी भारगभले कोरोना भाइरससंग जुधिरहेको भन्दै अत्यावश्यक सामग्री उत्पादनमा आफूहरू पनि लाग्ने बताएका थिए। त्यसैले मारूती सुजुकी भेन्टिलेटरको सम्भावित उत्पादनमा लागेको बताए।
भेन्टिलेटर उत्पादनका लागि आवश्यक पर्ने बजेट, सम्बन्धित निकायबाट लिनुपर्ने अनुमति तथा स्वीकृत मारूती सुजुकीले लिनेछ। यी सबै कुरा कम्पनीले एजभा हेल्थलेयरलाई निशुल्क उपलब्ध गराउने छ।
त्यस्तै मारूती सुजुकी इन्डिया लिमिटेडको साझेदार कृष्ण मारूती लिमिटेडले मास्क उत्पादन गरेर हरियाणा सरकार र केन्द्र सरकारलाई उपलब्ध गराउने छ। कम्पनीले उत्पादनको आवश्यक स्वीकृति लिइसकेकाले जतिसक्दो छिटो उत्पादन थाल्ने जनाएको छ।
त्यस्तै मारूती सुजुकीको अर्को साझेदार भारत सिटस् लिमिटेडले सुरक्षित कपडा उत्पादन गर्ने भएको छ। कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी सुरक्षित कपडा पिपिइ लगाउनु पर्छ। यो कोरोना उपचारका लागि अत्यावश्यक मानिन्छ।
आइतबार बिहानसम्ममा भारतमा ९ सय ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २४ जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।