काठमाडौं- ९ वर्षदेखि अमेरिकामा रहेका डा प्रकाश श्रेष्ठ टेक्सास लबबकमा बस्न थालेको तीन वर्ष भयो। तर, छिमेकी को हुन्, के गर्छन् र कस्तो छन्? हालसम्म कुनै जानकारी थिएन। व्यक्तिकेन्द्रित बनिरहेको अमेरिकामा यसअघि छिमेकीको अर्थ र महत्व पनि थिएन। त्यसैले जान्न जरुरी थिएन।
केही दिनअघि बसोबासले छिमेकी तर अपरिचितबाट डा श्रेष्ठलाई एउटा पत्र आयो। उनलाई हरेक दिन आइरहने दर्जनौं पत्रभन्दा त्यो फरक थियो। कम्प्युटरमा टाइप गरेर इमेल पठाउन सकिने शब्दहरु सुन्दर हस्ताक्षरबाट लेखिएका थिए।
परम्परागत हस्तलिखित चिठीको झल्को दिने उक्त पत्रमा शब्द मात्रै थिएनन्, कोभिड- १९ ग्रस्त देशमा एक चिकित्सक दम्पत्ति प्रतिको सम्मान थियो। स्नेह थियो र मनैबाट उत्पन्न भातृत्वभाव थियो। पत्रमा लेखिएका थियो, 'प्रिय छिमेकी कस्तो छ? तपाईंहरु कति खटिरहनुभएको छ, हामी महशुस गर्न सक्छौं। हामी तपाईंको आंगनमा उम्रिएको झार काटिदिएर साधुवाद व्यक्त गर्न चाहन्छौं।'
अमेरिकी समाजअनुसार कठोर बन्दै गइरहेको डा श्रेष्ठको मन पत्र पढ्दै गर्दा पग्लिन थाल्यो। अनपेक्षित प्राप्त त्यो पत्रले एकाएक भावुक बनाएको उनी सम्झिन्छन्। कोभिड १९ विरुद्धको लडाईंमा खटिरहेको डा श्रेष्ठ दम्पत्तिले फुर्सद पाएको समय परिवारलाई देओस् भन्ने चाहना पत्रमा व्यक्त गरिएको थियो।
उनले पत्रमै थाहा पाए, आफ्ना छिमेकी शिक्षक रहेछन्। पत्रमा छिमेकीले आफू त्यहाँको एक विद्यालयले गणित शिक्षक रहेको बताउँदै बच्चाको पढाइमा सघाउने चाहना प्रकट गरेका थिए। उनले सँगै भनेका थिए, 'तपाईंलाई सहयोग गर्न पाउँदा म र मेरो छोरा गौरवान्दित महशुस गर्नेछौं।'
तीन वर्षमा जम्माजम्मी एकपल्ट बाटोमा भेटिएका छिमेकी यति आत्मीय र सहयोगी छन् भन्ने महशुस कोभिड १९ को महामारीले गरायो डा श्रेष्ठलाई।
कोरोना भाइरसले सबैभन्दा धेरै चपेटमा पारेको अमेरिकाको कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रामक रोग फिजिसियन, इन्फेक्सन प्रिभेन्सन र एन्टिमाइक्रोबियल स्टेवार्डसिप मेडिकल डाइरेक्टर छन्। यसैगरी नेप्लिज सोसाइटी अफ लबबकका अध्यक्ष हुन्।
अस्पतालममा बिरामीको उपचार नियमित कर्म भइहाल्यो। संक्रामक रोग विशेषज्ञ र मेडिकल डाइरेक्टर भएकाले कोभिड १९ का बिरामीको उपचारमा पनि सक्रिय हुनुपर्छ। यति मात्रै नभइ अस्पतालको प्रशासनिक काममा पनि सघाउनुपर्छ र कोभिड १९ विरुद्ध लड्न चाहिने सामग्रीको जोहो समेत उनले गरिदिनुपर्छ।
त्यसबाट उब्रेको समयमा विभिन्न सञ्चारमाध्यम र फेसबुकमार्फत् कोभिड १९ सम्बन्धी चेतना फैलाउने काममा लगाउँछन्। यसले पछिल्ला दिनमा उनको दैनिकी व्यस्त बनेको हो।
अमेरिकामा कोभिड १९ फैलिएपछि त्यहाँका नागरिकको व्यवहारमा परिवर्तन आइरहेको उनले अनुभव गरेका छन्। उनी भन्छन्, 'यो मानव र भाइरसको लडाईं हो। मानव एक हुनुपर्छ भन्ने भावनाको विकास भएको छ।'
भावनालाई पन्छाएर प्रतिस्पर्धालाई आत्मसाथ गरेको अमेरिकी समाज यसपल्ट पूरापूर भावनामा बगिरहेको छ। डा श्रेष्ठलाई चिन्ने अमेरिकीहरु उनको गाह्रोसाह्रो सोधिरहेका छन्। सहयोग गर्ने मनशाय व्यक्त गर्दै भन्छन्, 'डक्टर प्रकाश, हामीले गर्न सक्ने सहयोग केही छ भने भन है।'
डा श्रेष्ठहरुलाई वर्तमान मानव स्वभाव अनौठो लाग्न थालेको छ। फेरिएको मानव स्वभावले कहिलेकाहिँ चकित पार्छ। तर, यतिबेला मानवीयता बाहेक अर्को कुनै धर्मको अर्थ छैन।

अमेरिकाको पनि न्युयोर्क कोरोना भाइरसको आतंक थिलथिलो भएको छ। त्यहाँ स्वयंसेवकका रुपमा सहयोग गर्न अन्य सहरबाट युवाहरु जान तयार भएर बसेका छन्। डा श्रेष्ठ भन्छन्, 'कहिल्यै अपेक्षा नगरिएको माहोल बनिरहेको छ। मानवीयता प्रकट भइरहेको छ।'
चिकित्सकहरुलाई हिरो ठानिरहेको छ समाज। अस्पतालमा आएर पिज्जा बाँड्ने, खाना खुवाउने र मेडिकल सामग्री दान दिनेहरु बढेका छन्। डा श्रेष्ठ भन्छन्, 'त्यसो नगर्नेहरु पनि चिकित्सक देख्दा ताली बजाएर मनोबल बढाउँछन्। गाडीको हर्न बजाएर चिकित्सा क्षेत्रप्रति सम्मान व्यक्त गरिरहेका छन्।'
कुनै समय भगवान ठानिन्थ्यो चिकित्कसलाई। विस्तारै एउटा पेशामा परिणत भएको थियो। फेरि चिकित्सा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा एकाएक परिवर्तन आएको छ। यसलाई एउटा पेशा भन्दा उपल्लो नजरले हेरिरहेको छ समाजले। चिकित्सा पेशा मात्रै नभइ, मानवीय सेवा हो भन्ने प्रमाणित गरिरहेका छन्, स्वास्थ्यकर्मीहरुले। उनीहरु आफूलाई आइलाग्ने जोखिमको प्रवाह नगरी अरुको उपचारमा तल्लीन छन्।
त्यसैले अस्पतालअघि आएर सर्वसाधारणहरुले आकर्षक रुपमा लेख्न थालेका छन्, 'यहाँ हिरोहरु काम गर्छन्।' माथिको तस्विर त्यसैको उदाहरण हो। ओरेगनस्थित सेक्रेड हर्ट मेडिकल सेन्टरअघि ठूलो अक्षरमा 'हिरोज वर्क हियर' लेखिएको छ। त्यहाँका सर्वसाधरणले स्वास्थ्यकर्मीलाई हौसला दिन राखिएको त्यहाँ कार्यरत नेपाली डाक्टर सरोज श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'त्यसले हामीलाई अस्पताल पस्दा र निस्किदा छुट्टै ऊर्जा प्राप्त भएको महशुस गराउँछ।'
अमेरिकी समाजले अहिले चेतेको छ। स्वास्थ्यकर्मीको महत्व महशुस गरेको छ। किनभने १२ हजार अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन् भने ४ लाख भन्दा बढी संक्रमित छन्। कोरोना भाइरसको प्रभाव बढ्दो छ। मेडिकल सामग्री अभाव त्यहाँ पनि छ, तैपनि चिकित्सकहरु खटेका छन्। स्वास्थ्य प्रणाली त्यहाँ पनि ध्वस्त भएको छ। तर, यही 'मौकामा चौका' हान्न खोज्ने सरकार चाहिँ त्यहाँ छैन।
के हामीले चेत्न क्षति नै बेहोर्नु पर्ने हो? विश्वका शक्तिशाली देशको निरीह अवस्था हेरेर हामी लोभ, इर्श्या र प्रतिष्पर्धा त्यागेर मानवीय भावनाको विकास गर्न सक्दैनौं? पढेर जान्ने हो भने अमेरिकाले यतिबेला दिने शिक्षा यही हो। परेरै जान्न खोजियो भने त हामीसँग मृत्यु वा स्वतन्त्रता होइन, मात्र मृत्यु रोज्ने स्वतन्त्रता बाँकी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।